जेनजी आन्दोलनका सिलसिलामा खरानी भएको पार्टी कार्यालयको अवलोकनपछि नेकपा (एकीकृत माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले त्यसै ठाउँमा अझै राम्रो कार्यालय बनाउने उद्घोषबारे विविध चर्चा परिचर्चा भएका छन् । आन्दोलनका क्रममा ठुला पार्टीका कार्यालय, प्रहरी कार्यालय, नगरपालिका, वडा कार्यालय जलेर ध्वस्त भएका छन् । यो स्थानीय तहदेखि प्रदेश र सङ्घमा दलका नाममा गरिएका कुशासनको प्रतिफल हो । दलहरूसँग अब सक्किने कि सच्चिने (?) भन्ने दुई विकल्प मात्र बाँकी छन् ।
राजनीतिक दलहरूले आफ्नो चुनावी प्रतिज्ञापत्रमा देश र जनताको भलाइका लागि मन, वचन र कर्मले सेवा गर्ने नारा दिँदै आए तर यथार्थमा त्यस्तो हुन सकेन । दलीय नेतृत्वले जनताका नाममा देश बिर्सेर आफ्नो, आफ्ना र आफन्तको भविष्य बनाए । सरुवा, बढुवा र नियुक्तिमा समेत हालीमुहाली गरे । वडा सदस्यदेखि सांसदसम्मको निर्वाचनमा उमेदवारी अनुमोदन गर्न लिलाम बढाबढसम्म भएका समाचार आए । ठेक्कापट्टासमेत प्रतिस्पर्धाका आधारमा नभई आफू अनुकूलका व्यक्ति र संस्थालाई दिए । गुणस्तरको काम हुन सकेन । परिणाम हामीले भोगिरहेका छौँ ।
संविधानमा समानुपातिक सांसदको व्यवस्थाको दुरुपयोग भयो । जनजाति, पिछडिएको वर्ग र महिलाका नाममा नेता पत्नीदेखि आफन्तसम्म र दलालदेखि बिचौलियासम्मलाई मनोनयन गरियो । अर्बपति उद्योगपति मोटो रकम बुझाएर सांसद भए । यसैको परिणाम थियो नवपुस्ताको आन्दोलन । राज्यका माथिल्लो तहमा घुस, कमिसन, नजराना, पुरस्कार मौलाउँदै गएपछि त्यसको प्रभाव माथि मात्र सीमित नभएर तल तलसम्म सर्दै गयो । प्रदेशदेखि स्थानीय तहसम्म कुशासन मौलाउन थाल्यो । जनताको पक्षमा कुनै काम हुन छाड्यो । जनताले स्थानीय तहबाट सानोतिनो सिफारिस लिनुपर्दा होस् कि जन्म, मृत्यु, बसाइँसराइ दर्ता गर्दा पनि रिसवत बुझाउनुपर्ने अवस्था उत्पन्न भयो । केन्द्रदेखि स्थानीय तहसम्म जेमा पनि कर वृद्धि भयो । कुनै गरिबले एक/दुई डोका हरिया मकै बेच्दा होस् वा १०/२० दाना कागती बेच्दा पनि कर असुल गरियो । ठेक्कापट्टामा बनेका सडक कमिसनले गर्दा गुणस्तरहीन सामानको प्रयोगले बनिनसक्दै भत्किन थाले । भवन र पुल निर्माण हुनासाथ भत्किए । समाजमा कमाउ धन्दा राम्ररी चलाउनेको मासुभात र रक्सी खान पाएर झोलेको झुन्ड पछि लाग्न थाल्यो । कार्यकर्तामा दास प्रवृत्ति मौलाउन थाल्यो । दलका कार्यकर्ताले गुण र दोषका आधारमा विरोध र समर्थन गरेको भए सायद यो अवस्था आउने थिएन ।
राज्यले जनतालाई खेती गर्ने बेलामा उन्नत बिउ र रासायनिक मल उपलब्ध गराउन सकेनन् । किसानको मेहनतले उत्पादन गरेको अन्नको मूल्य सुरुमा अति कम तोकियो । किसानले अन्न बिक्री गरेर सबै अन्न व्यापारीका हातमा पुगिसकेपछि मूल्यवृद्धि गरियो । यो एक वर्षको कुरा मात्र होइन, यो बर्सौंदेखिको परिपाटी बन्यो ।
फेरि निर्वाचनमा जाँदा तिनै नेताले पुनः अबदेखि राम्रा काम गर्ने भनेर छुट्टै प्रतिबद्धता गरेपछि जनताले पटक पटक उनीहरूकै विश्वास गरिरहे । माथि माथि टाउका मिलेपछि कांग्रेसका छाया मन नपराउने माओवादीले पनि कांग्रेसलाई भोट दिए । माओवादीको नाम लिनासाथ तर्सिने कांग्रेसले पनि माओवादीलाई भोट दिए । राप्रपाले एमालेलाई र एमालेले पनि राप्रपालाई भोट दिए । राजनीतिक आस्था, विश्वास, सोच, दृष्टिकोण सबैथोकको अवसान भयो, स्खलन भयो । यसैको परिणाम थियो नवपुस्ताको आन्दोलन ।
एक जना भद्र व्यक्ति बसमा यात्रा गरिरहेका थिए । सहचालकले नजिकै आएर भाडा मागे । भद्र व्यक्तिले आफ्नो भाडा दिन खोज्दै थिए । छेउमै बसेका अपरिचित व्यक्तिले भने “होइन हजुर, हजुरको भाडा म दिन्छु । हजुरले भाडा दिन पर्दैन ।” मेरो भाडा तपाईंले किन दिने, म आफैँ दिन्छु,” भद्र व्यक्तिले भने । यत्तिकैमा छेउमा बसेका व्यक्तिले दुवै जनाको भाडा सहचालकलाई बुझाए । भद्र व्यक्तिलाई पैसा झिक्नै उनले दिएनन् ।
बस स्टप आएपछि छेउमा बसेर भाडा तिरिदिने मानिस उत्रेर गए । उनी गइसकेपछि केही कुरा झिक्न भद्र व्यक्तिले पेन्टको पछाडिको खल्तीमा हात हालेका मात्र थिए, उनलाई भनभनी रिँगटा लाग्न थाल्यो । उनका छेउमा बसेर भाडा तिरिदिने त पकेटमार रहेछ । उसले खल्तीबाट भए जति सबै पैसा झिकेर लगे छ । त्यसको केही महिनापछि ती भलादमीले त्यस पाकेटमारालाई बजारमा भेटे छन् । उनले त्यसलाई झम्टिन खोजेका थिए । त्यस पाकेटमाराले भने छ “हजुर मलाई माफ गर्नुहोस्, हजुरको पैसा चोरेकै दिन बेलुका अचानक मेरी श्रीमती र छोराको मृत्यु भयो ।” उसले ती भलादमीलाई अँगालो हालेर भन्यो, “ममाथि दया गरी माफ गर्नुहोस्, म अभागी रहेछु । ”
पाकेटमाराका कुरा सुनेर सिधासादा भद्र व्यक्ति पग्लिए । उनले छाती फराक पारेर माफी दिए । पाकेटमारा बाटो लाग्यो । एकछिनपछि आफ्नो खल्ती छामेको त अँगालो हालेर रुँदा कमेजका खल्तीमा भएको सबै पैसा उम्काएछ । भलादमीले आफ्नै बुद्धिलाई धिक्कारे, उनी पछुतोमा परे । बारम्बार उसको विश्वास गर्नु आफ्नो भूल भएको स्विकारे । त्यसको केही दिनपछि ती भद्र व्यक्ति आफ्नो बाइक चढेर बजारतिर जाँदै थिए । एक्कासि त्यही पकेटमाराले उनको बाइक रोक्यो । उसले भद्र व्यक्तिसित माफी माग्दै भन्यो, “म हजुरलाई पहिले मैले लिएको पैसा सबै फिर्ता दिन्छु, छेउको होटेलमा बसौँ न दण्ड स्वरूप खाजा पनि खुवाउँछु ।” ती भद्र व्यक्ति उसका पछि लागेर एउटा रेस्टुराँमा पसे । उसले भद्र व्यक्तिलाई चिया खाजाको प्रबन्ध गरिदिएपछि भन्यो, “पहिले मैले चोरेको पैसा यति नै हो, यो फिर्ता लिनुहोस्, अबदेखि कहिले पनि मबाट त्यस्तो काम हुने छैन ।” यति भनेर पैसाको बिटो मेरा हातमा राखिदिँदै उसले भद्र व्यक्तिलाई अँगालो हालेर रोयो । उनले त्यो पैसाको बिटो कोटको खल्तीमा राखे । खाजा खाइसकेका थिएनन् । उसकी सानी छोरीलाई अस्पतालमा राखेको छ, तुरुन्त पुग्नु छ भनेर ऊ बिदा मागेर हिँड्यो ।
ऊ गएको केही बेरपछि बाहिर निस्कन प¥यो भनेर बाइकको चाबी झिक्न खोजे, त्यसले अघि दिएको पैसाको बिटो, बाइकको चाबी मात्र होइन पार्किङमा राखेको बाइक नै लिएर टाप कसेछ । त्यसको केही दिनपछि फेरि एकदिन त्यो पाकेटमारा, मोटरसाइकल चोर सडकमा फेला प¥यो । त्यसलाई भद्र व्यक्तिले च्याप्प समाते । यसपालि यस विषयमा उनले त्यस पाकेटमारालाई बोल्नै नदिई धमाधम चड्कनको वर्षा गर्न थाले । उनले त्यसलाई कहिले नबिर्सिने गरी दहीचिउरा दिएर उसलाई प्रहरीका खोरमा हालिदिए ।
नेपालका राजनीतिक दलको अवस्था यस्तै छ । सिधासादा जनतालाई यिनीहरूले सुरुदेखि नै ठग्दै आए । नेपाली जनताले विश्वास गर्दै गए । उनीहरूले विभिन्न भेषमा ठगे । अन्त्यमा अत्याचारले सीमा नाघेपछि अघिल्लो पुस्ताबाट केही नहुने बुझेका नवपुस्ताका युवा भ्रष्टाचार, अनैतिकता, कुशासन, दलाल प्रवृत्तिलगायत तमाम विकृति र विसङ्गति अन्त्य गर्न भनी जुर्मुराएर । सडकमा निस्कँदा कैयौँ नवयुवाले शहादत दिए । उनीहरूलाई गोलीको वर्षा भएपछि उत्तेजित भिडले संसद् भवनलगायत धेरै ठाउँमा आगजनी गरे, पार्टी कार्यालय ध्वस्त भए । शीर्ष नेताका घरमा आगजनी भयो । दुई तिहाइको सरकार क्षणभरमै ढल्यो । नयाँ अन्तरिम सरकार बन्यो । सरकारमा आएका नयाँ मन्त्रीले जनमुखी प्रतिबद्धता ल्याउँदा जनतामा खुसियाली देखिन थाल्यो ।
भ्रष्टाचार र कुशासन अन्त्य गरेरै छाड्ने प्रतिबद्धता लिएर आएको छ, नवपुस्ता । उनीहरूको चाहना अनुसार विगतमा भ्रष्टाचार गरेर अकुत कमाउनेको सम्पत्ति छानबिन गर्नु पर्छ । त्यो सम्पत्तिलाई राज्यकोषमा ल्याउन सकियो भने भोलिका पुस्तामा भ्रष्टाचारप्रति नकारात्मक भावना पैदा हुन गई देश समृद्धिको दिशामा अगाडि बढ्ने थियो । हुन त देश चलाउने भनेको राजनीतिक दलले नै हो । दलहरू अबका दिनमा सच्चिएर आउनु पर्छ । आफू, आफ्नो पार्टी र आफन्तको सीमाबाट माथि उठेर सम्पूर्ण देशलाई बनाउने प्रतिबद्धतासहित ६० नाघेका नेता कुर्सीबाट हटेर युवापुस्ता कुर्सीमा आए भने खरानीबाट उठ्न सहज हुन्छ । राजनीतिक दलका नेताले पार्टी कार्यालय ठड्याउने नभनेर देशको शिर ठड्याउने काममा लाग्ने हो भने भविष्यमा सकारात्मक काम हुने आशा एवं विश्वास लिन सकिन्छ ।