विनय कर्ण
कल्याणपुर (सप्तरी), असोज २८ गते । सप्तरीको राजविराज नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर १२ स्थित सिङ्योन घर भएका २१ वर्षीय अजय कुमार यादवको करेन्ट लागेर मृत्यु भएको हो ।
आफ्नो घरमा बिजुलीको बोर्ड बनाउने क्रममा करेन्ट लागेर यादव घाइते हुनुभएको थियो ।
घाइते उहाँलाई उपचारका लागि सोमबार गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर पुरीले जानकारी दिनुभयो ।
पाँच दिन अघि सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर १ घर भएका २८ वर्षीय दिपेश परियारको आफ्नै घरमा जडान गरिएको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो ।