• २८ असोज २०८२, मङ्गलबार

घाना विश्वकपमा चयन

blog

अकरा (घाना), असोज २८ गते । अफ्रिकी छनोट समूहबाट घाना सन् २०२६ मा हुने विश्वकपमा चयन भएको छ । घाना आगामी विश्वकपमा खेल्न योग्य हुने अफ्रिकाको पाँचौँ राष्ट्र हो । यसअघि अल्जेरिया, इजिप्ट, मोरोक्को र ट्युनिसियाले पनि अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा स्थान बनाइसकेका छन् ।

सन् २०१० मा विश्वकपको क्वाटरफाइनलसम्मको यात्रा गर्ने घानालाई समूह ‘आई’ को अन्तिम खेलबाट विश्वकपमा पुग्न कोमोरोसविरुद्ध एक अङ्क आवश्यक थियो । घानाले घरेलु मैदानमा कोमोरोसलाई १–० ले हरायो । टोटनहामका फरवार्ड मोहम्मद कुडुसले खेलको ४७ औँ मिनेटमा निर्णायक गोल गर्नुभयो । अफ्रीकी समूहबाट नौ टिम स्वतः विश्वकपमा चयन हुने प्रावधान रहेको छ ।

फारोइ आइल्यान्डको सनसनी

यसै गरी युरोपेली समूहमा फिफा वरीयतामा १३६ औँ स्थानमा रहेको फारोइ आइल्यान्डले चेक गणतन्त्रलाई २–१ ले स्तब्ध पारेको छ । फारोइ आइल्यान्डको जितमा स्थानापन्न खेलाडी मार्टिन आग्नारसन खेलको ८१ औँ मिनेटमा निर्णायक गोल गरेर नायक बन्नुभयो । यसअघि खेलको ६७ औँ मिनेटमा हानस सोरेनसनको गोलबाट फारोइ आइल्यान्डले नै अग्रता बनाएको थियो । खेलको ७८ औँ मिनेटमा चेकका एडम काराबेकले खेललाई बराबरीको स्थितिमा ल्याउनुभयो । 

५४० स्क्वायर माइल्स क्षेत्रफल र मात्र ५५ हजार जनसङ्ख्या रहेको फारोइ आइल्यान्डले यस जितसँगै पहिलो पटक विश्वकप खेल्ने अभियानमा ठुलो पाइला चालेको छ । पछिल्ला पाँच छनोट खेलमा फारोइ आइल्यान्डको यो चौथो जित हो । समूह ‘एल’ मा फारोइ आइल्यान्ड तेस्रो स्थानमा उक्लेको छ । दोस्रो स्थानमा रहेको चेक गणतन्त्रभन्दा फारोइ आइल्यान्ड मात्र एक अङ्कले पछाडि छ । यस समूह क्रोएसिया शीर्ष स्थानमा रहको छ । क्रोएसियाले जिब्रालटारलाई ३–० ले हरायो । 

समूह ‘जी’ मा नेदरल्यान्ड्सले फिनल्यान्डलाई ४–० ले हरायो । सो खेलमा नेदरल्यान्ड्सका सर्वाधिक गोलकर्ता मेम्पिस डिपेले पेनाल्टीमा गोल गरी आफ्नो अन्तर्राष्ट्रिय गोल सङ्ख्या ५४ पु¥याउनुभयो । विश्वकप छनोटमा पछिल्ला छ खेलमा डिपेले सात गोल गरिसक्नुभएको छ । नेदरल्यान्ड्सका लागि डोनिल मालेन, भर्जिल भान डिक र कोडी गाप्कोले पनि गोल गर्नुभयो । दुई खेल बाँकी छँदा शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्सलाई पोल्यान्डले पछ्याइरहेको छ । नेदरल्यान्ड्सभन्दा तीन अङ्कले पछाडि पोल्यान्डले लिथुवानियालाई २–० ले हरायो । पोल्यान्डका लागि सेवेस्टियन समान्स्की र रोवर्ट लेवानडोस्कीले गोल गर्नुभयो ।

समूह ‘सी’ मा डेनमार्क र स्कटल्यान्ड विजयी रहे । डेनमार्कले ग्रिसलाई ३–१ र स्कटल्यान्डले बेलारुसलाई २–१ ले पराजित गरे । यी दुवै टिमको खेलबाट समान १०–१० अङ्क छ । यद्यपि गोल अन्तरले डेनमार्क अगाडि छ । एपी