गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज २८ गते । चलचित्र ‘मुग्लान’ को निर्माण पक्षले सोमबार चलचित्रको ‘फर्स्ट लुक्स’ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । चलचित्र आगामी पुस १० गते देशभरका हलमा प्रदर्शन हुने छ ।
‘फर्स्ट लुक्स’ पोस्टरमा मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकाललाई विशुद्ध ग्रामीण वेशभूषामा प्रस्तुत गरिएको छ । पोस्टरले उनीहरूको प्रेम कहानीलाई कलात्मक ढङ्गले प्रतिविम्बित गरेको छ । प्रभात बाँसुरी समातेर धुनमा हराउन लागेको भावमा छन् भने स्मारिका लज्जा मिश्रित मुद्रामा देखिएकी छिन् । यस दृश्यले चलचित्रमा नेपाली गाउँघरको परिवेश र परदेशको पृष्ठभूमिमा बुनिएको प्रेमकथालाई सङ्केत गरेको छ । युवाको बिदेसिने सपना, गाउँघरको माया र सङ्घर्षको कथालाई ‘मुग्लान’ मा केन्द्रित गरिएको निर्माण टिमले जनाएको छ ।
आशिष ढकालको लेखन तथा निर्देशन रहेको चलचित्रमा दिनेश डिसी, मोती सुवेदी, रामचन्द्र अधिकारी, खबपुलगायतका कलाकारको पनि अभिनय रहेको छ ।