• २८ असोज २०८२, मङ्गलबार

सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसमेत सात जना र निर्माण सेवा कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

नगरपालिकाको कारागार रानागाउँ नेटीबजार सडकमा निर्माणका लागि ठेक्का दिने प्रयोजनमा गैरकानुनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको आरोपमा सोमबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । मिलेमतो गरी ठेक्कामा सबैभन्दा बढी अङ्क कबोल गर्ने थापा/सविन/सुदर्शन जेभीलाई छनोट गरी भ्रष्टाचार गरेको आयोगले जनाएको छ । 

ठेक्कासम्बन्धी बोलपत्र राष्ट्रियस्तरको पत्रिकामा प्रकाशित नगरी सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाइटमा प्रकाशित गरी मिति २०८० साल पुस ३० गते बोलपत्र खोलेको थियो । त्यसदिन आठ वटा परेका बोलपत्र खोलेको मुचुल्काबाट देखिएको पनि आयोगले जनाएको छ । सार्वजनिक खरिद नियमावली २०६४ को नियम ५१ (१) मा बोलपत्र तयार गर्ने र खरिद सम्झौता गर्न आवश्यक सूचना प्राप्त बोलपत्रदाताले आफ्नै खर्चमा निर्माणस्थलको भ्रमण गराउन सक्ने व्यवस्थाविपरीत निर्माणस्थल भ्रमणलाई अनिवार्य सर्तका रूपमा राखेको देखिएको पनि आयोगले जनाएको छ । 

आफूहरूलाई लाभ र नेपाल सरकार/प्रदेश सरकार/भेरी नगरपालिका/सार्वजनिक संस्थालाई हानि पु¥याउने बदनियतले भ्रमणलाई अनिवार्य बनाइएको पनि आयोगले दाबी गरेको छ । यस कार्यमा संलग्न भएको आरोपमा आयोगले घर्तीसहित नगरपालिकाका इन्जिनियर मोहन मल्ल, सामाजिक विकास अधिकृत अनिष साह, कानुन अधिकृत प्रकाशकुमार शाही, लेखापाल राजेन्द्रबहादुर कठायत, नायब सुब्बा कृतिबहादुर थापा तथा थापा/सविन/सुदर्शन जेभीका आधिकारिक प्रतिनिधि थापा निर्माण सेवाका प्रोप्राइटर दीपबहादुर खत्रीलाई पनि प्रतिवादी बनाएको छ । 

प्रतिवादी सबैलाई ८१ लाख ५३ हजार पाँच सय ३० रुपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरिएको आयोगले जनाएको छ ।