• २८ असोज २०८२, मङ्गलबार

बढ्यो मोटरसाइकल चोरी

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असोज २८ गते । काठमाडौँ उपत्यकामा दुईपाङ्ग्रे (मोटरसाइकल, स्कुटर) सवारीको चोरी बढेको छ । ट्राफिक प्रहरी कार्यालय जलेर नष्ट हुँदा, प्रहरीको सक्रियता न्यून र चाडपर्वका बिदा भएको अवस्थामा चोरी मौलाएको हो । 

यसअघि सामान्य दिनमा दैनिक पाँच वटासम्म हराएको निवेदन ट्राफिक प्रहरीमा आउने गरेको थियो तर अहिले हरायो भनेर निवेदन दिनेको सङ्ख्या ह्वात्तै बढेको छ । आइतबार मात्रै १९ जनाले सवारीसाधन हराएको निवेदन दिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार एक महिनामा २२३ वटा सवारीसाधन हराएको निवेदन छ । जसमा ३५ वटा प्रहरीले फेला पारेर १६ वटा सवारीधनीलाई दिइएको छ । चोरीमा संलग्न छ जना पक्राउ गरी प्रहरीलाई बुझाइएको छ । हराएकामध्ये केही सवारी आन्दोलनमा जलेको हुन सक्ने ट्राफिक प्रहरीको अनुमान छ । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले भन्नुभयो, “पहिला दैनिक चार/पाँच वटा निवेदन आउँथ्यो अहिले १८/१९ वटा निवेदन आएका छन् । हिजोआज पनि चोरी बढिरहेको छ ।” 

उपत्यकाको चक्रपथप आसपासबाट सवारी चोरी भइरहेको छ । ट्राफिक प्रहरी कार्यालय जलेर नष्ट भएकाले खोजी कार्य पनि प्रभावकारी हुन नसकेको पीडितको गुनासो छ । स्कुटर चोरी भएपछि महाराजगन्ज प्रहरी कार्यालयमा निवदेन दिन जानुभएका भीमबहादुर घिमिरेले भन्नुभयो, “महाराजगन्ज प्रहरीमा निवेदन दिन जाँदा न प्रहरी छन् न कार्यालय । निवेदन दर्ता गर्न पनि समस्या । महाराजगन्जले ट्राफिक कार्यालयलाई पत्र पठाइदिनुपर्ने रहेछ । त्यो पत्र टाइप गर्ने कम्प्युटरसमेत नभएर सिफारिसपत्र बनेको छैन ।”

यति बेला ट्राफिक प्रहरीको सडकमा जाँच पनि खासै देखिँदैन । चोक चोकमा ट्राफिक प्रहरीको उपस्थिति निक्कै कम देखिएको छ । घिमिरेले भन्नुभयो, “जसले जे गरे नि हुने अवस्था छ । शनिबार चोरी भएको हो । अझै खोजी प्रक्रिया हुन सकेको छैन । अब स्कुटर कहाँ पुगिसक्यो, भेटिने हो होइन ? तनाव हुँदो रहेछ ।”

टोखाबाट आफ्नो मोटरसाइकल चोरी भएको बताउँदै टेकबहादुर थापाले भन्नुभयो, “१२ वर्ष भयो होला मोटरसाइकल चलाउन थालेको तर अहिलेसम्म चोरी भएको थिएन । बाटोमा एकैछिन राखेको बाइक दिउँसै चोरी भयो । धेरैको चोरी भएको रहेछ, ट्राफिक प्रहरीमा गएको सबै मान्छे बाइक चोरी भयो भनेर आएको देखेँ ।”

यातायात व्यवस्था विभागका अनुसार काठमाडौँ उपत्यकामा करिब २० लाख दुईपाङ्ग्रे सवारी गुड्छन् । हराएका दुईपाङ्ग्रे सवारी भेटिएनन् भने बिमा गरेकाले नयाँ बाइक पाउँछन् तर बिमा नगरेकाले कुनै क्षतिपूर्ति पाउँदैनन् ।