गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज २८ गते । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबिच समसामयिक सन्दर्भमा परामर्श भएको छ । उहाँहरूबिच अन्तरव्यवस्थापिका मञ्चको महासभा, राष्ट्रिय सभा निर्वाचन, राष्ट्रिय सभामा जेनजीको सहभागितालगायत विषयमा संवाद भएको हो । अध्यक्ष दाहालका अनुसार जेनेभामा आयोजना हुने अन्तरव्यवस्थापिका मञ्चको महासभामा सहभागी हुन राष्ट्रिय सभाका दुई सदस्यसहित नेपाली टोली जाने भएकाले उक्त विषयमा छलफल भएको छ ।
फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि सकिँदै छ । ३५ दिनअघि नै निर्वाचन सम्पन्न गर्नुपर्ने प्रावधान छ । अध्यक्ष दाहालले भन्नुभयो, “निर्वाचनबारे छलफल भयो । निर्वाचन आयोगसँग कुरा भइसकेको छ । प्रधानमन्त्रीले यी विषयलाई सकारात्मक रूपमा लिनुभएको छ ।”
उहाँले राष्ट्रिय सभा बैठक सञ्चालन गर्नका लागि भवन उपलब्ध नभएकाले यस विषयमा पनि सरकारले सोच्नुपर्ने जानकारी गराएका बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्री कार्कीले राष्ट्रिय सभामा जेनजी पुस्ताको उपस्थितिका सन्दर्भमा पनि जिज्ञासा राख्नुभयो । उहाँले भन्नुभयो, “बदलिएको परिवेशमा जेनजी पुस्ताको प्रतिनिधित्वको जिज्ञासा जायज छ । ३५ वर्षमाथिका सदस्य निर्वाचित हुने व्यवस्था संविधानमै छ । यी विषय राजनीतिक सहमतिका आधारमा हुने भएकाले छलफल अघि बढाउँदै जानुपर्ने कुरा राखेको छु ।”