• १३ असोज २०८१, आइतबार

रेल्वे विधेयक राष्ट्रियसभाबाट बहुमतले पारित, अर्को बैठक सोमबार बस्ने

blog

काठमाडौं, असार १७ गते । राष्ट्रियसभा बैठकबाट रेल्वे विधेयक, २०७९ बहुमतले पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकले रेल्वे विधेयकसहित अन्य छ वटा विधेयक बहुमतले पारित गरेको हो ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पेस गर्नुभएको रेल्वे विधेयक, २०७९ पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

त्यस्तै, बैठकले औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले पेश गर्नुभएको औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतीले पारित गरेको हो ।

यसैगरी, मन्त्री खापुङले नै पेश गर्नुभएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ ।

त्यस्तै, राष्ट्रियसभाबाट आगामी आवको बजेटसँग सम्बन्धित तीन विधेयक पारित भएका छन् । राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०७९’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ र ‘ऋण तथा जमानत (पच्चीसौँ संशोधन) विधेयक, २०७९’ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरिएको हो ।

राष्ट्रियसभाबाट पारित भएको उक्त विधेयक सन्देशसहित प्रतिनिधिसभाबाट पठाइएको छ । राष्ट्रियसभाले सन्देशसहित पठाएको विधेयक प्रतिनिधिसभाले पारित गर्नुपर्ने हुन्छ ।

प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूले बजेट प्रस्तुत गर्ने एक दिनअघि अनाधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको आरोप लगाउँदै आजको बैठक बहिष्कार गर्नुभयो । एमाले सांसदहरू कार्यसूचीमा रहेको आर्थिक विधेयकसँग सम्बन्धित विषयको छलफलमा सहभागी नहुने भन्दै बैठकस्थलबाट बाहिरिनुभयो ।

राष्ट्रियसभाको आगामी बैठक असार २० गते सोमवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।