• २७ असोज २०८२, सोमबार

गाउँमै बसेर विदेशको भन्दा दोब्बर आम्दानी

blog

गााईपालन गर्नुभएका देवीप्रसाद बगाले । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, असोज २७ गते । “परदेशमा वर्षौं पसिना बगाएँ, तर अब गाउँमै पसिना बगाउँछु र दोब्बर आम्दानी गर्छु” व्यास नगरपालिका –१३ बेलबासका देवीप्रसाद बगालेको यो भनाइ आज धेरै युवाका लागि प्रेरणाको स्रोत बनेको छ ।

कुवेतमा ६ वर्ष र मलेसियामा चारवर्ष बिताएर फर्किएका बगाले अहिले गाउँमै गाईपालन व्यवसायबाट मासिक एक लाख रुपियाँभन्दा बढी कमाइ गर्दै हुनुहुन्छ । विदेशमा महिनामा ५० हजार कमाउँदा पनि परिवारको साथ र सुख नपाएको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “अब विदेश जाने होइन, गाउँमै अवसर छ । यही माटोमा मेहनत गर्दा विदेशको भन्दा दोब्बर आम्दानी भइरहेको छ ।”

बगालेले अहिले १८ वटा उन्नत जातका जर्सी र होलस्टेन गाई र केही बाख्रापालन गर्दै आउनुभएको छ । दैनिक झण्डै ९० लिटर दुध उत्पादन हुँदैआएको छ, जसबाट मासिक डेढ लाख रुपियाँभन्दा बढीको बिक्री हुन्छ । खर्च कटाएर करिब एक लाख रुपियाँ बचत हुने उहाँको भनाइ छ । 

व्यवसायमा श्रीमती गौरी बगाले निरन्तर साथ दिनुहुन्छ । आमा शिवमाया बगाले छोरा गाउँमै स्थायी रूपमा बसेकाले खुशी महसुस गर्नुभएको छ । उहाँले भन्नुभयो, “पहिले विदेशमा हुँदा बिरामी भयो कि भन्ने चिन्ता रहन्थ्यो, अब छोरा आफ्नै आँखा अगाडि छ, मन शान्त छ ।”

बगालेले गाई र बाख्रापालनका लागि १३ रोपनी आफ्नै र ७ रोपनी भाडाको जमिनमा घाँस खेती गर्दै आउनुभएको छ । उत्पादनमा आधारित प्रोत्साहनका रुपमा व्यास नगरपालिका र गण्डकी प्रदेश सरकारबाट वार्षिक एक लाख २० हजार रुपियाँको अनुदान पनि पाउनुभएको छ ।

उहाँले भन्नुभयो, “सरकारले उत्पादनमा आधारित अनुदान दिन थालेपछि वास्तविक किसान लाभान्वित भएका छन् । अनुदान पाउन व्यवसाय सुरु गर्ने र पछि छोड्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ ।” गाउँमा बाँझो जमिन सदुपयोग गरेर बगालेले कमाएको यो सफलता गाउँमै रोजगारी र समृद्धिको सम्भावना देखाउने उदाहरण बनेको छ ।