काठमाडौं, असोज २७ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि कोरियाली राजदूत पार्क ताइयोङबीच आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा राजदूत पार्कले मन्त्री घिसिङलाई बधाई दिँदै उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। उहाँले नेपाल र कोरियाबीच लामो समयदेखि रहिआएको आर्थिक सहकार्य अझ मजबुत बनाउने इच्छा व्यक्त गर्नुभयो।
भेटमा मन्त्री घिसिङले ऊर्जा सन्तुलन र विद्युत निर्यातका लागि ठूला जलाशययुक्त जलविद्युत आयोजनाको आवश्यकता औँल्याउँदै ५०० मेगावाटभन्दा ठूला आयोजना सरकार–सरकार तहको साझेदारीमा वा कोरियाली निजी क्षेत्रको लगानीमा अघि बढाउन सकिने प्रस्ताव गर्नुभयो।
साथै, हरित हाइड्रोजन उत्पादनमा कोरियाको अनुभव नेपालमा लागू गर्दै मलखाद उत्पादन र सार्वजनिक यातायात सञ्चालनमा प्रयोग गर्न सकिने नमुना परियोजना विकास गर्न सहयोग गर्न आग्रह गर्नुभयो।
मन्त्री घिसिङले रोजगार अनुमती प्रणालीअन्तर्गत कोरिया जाने नेपाली श्रमिकको कोटा वृद्धि, उनीहरूका लागि सीप विकास तालिम र फर्किएपछि सीप प्रयोग गरी उद्यमशील रोजगारी सिर्जनामा सहयोग गर्न पनि अनुरोध गर्नुभयो।
त्यस्तै, उहाँले अरुण नदी करिडोर र पूर्व–पश्चिम प्रसारण लाइनलाई जोड्ने इनरुवा–अनारमनी ४०० केभी प्रसारण लाइनका लागि कोरियन एक्जिम बैंकमार्फतको सहयोग छिटो टुंग्याउन र रेलमार्ग निर्माण, सञ्चालन र मर्मतका लागि क्षमता विकासमा सहकार्य गर्न आग्रह गर्नुभयो।
भेटका क्रममा राजदूत पार्कले रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको प्रगतिबारे जानकारी दिनुभयो।
उहाँका अनुसार आयोजनाको ७० प्रतिशत काम सम्पन्न भइसकेको छ र आगामी डिसेम्बरमा मुख्य सुरुङ छिचोल्ने तयारी भइरहेको छ।
उक्त अवसरमा मन्त्री घिसिङलाई उक्त ब्रेकथ्रु समारोहमा सहभागी हुन अनुरोध गरिएको थियो।
राजदूत पार्कले कोरियाली कम्पनीहरूलाई नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आकर्षित गर्न सेमिनार आयोजना गर्ने तयारी भइरहेको जानकारी गराउँदै प्रसारण लाइन निर्माणमा आवश्यक सहयोगका लागि अर्थ मन्त्रालयसँग छलफल भइरहेको बताउनुभयो।
भेटवार्तामा दुवै पक्षले नेपाल–कोरिया सम्बन्धलाई ऊर्जा, पूर्वाधार र रोजगारीका क्षेत्रमा थप सुदृढ बनाउने सहमति जनाएका छन्।