संयुक्त राष्ट्रसङ्घ, असोज २७ गते । गाजा क्षेत्रमा संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता अभियान तीव्र रुपमा अघि बढिरहेको छ । मार्च महिनापछि पहिलो पटक पकाउने ग्यास गाजामा प्रवेश गरेको संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता समन्वय कार्यालय (ओसीएचए) ले जानकारी दिएको छ ।
प्राप्त विवरणअनुसार, विस्थापित परिवारका लागि आवश्यक परेका थप पाल, ताजा फलफूल, पिठो तथा औषधी आइतबारभरि गाजामा आपूर्ति गरिएको छ । संयुक्त राष्ट्रसङ्घ तथा यसका साझेदार संस्थाले गाजाको उत्तर र दक्षिण क्षेत्रभरि लाखौँ तातो खाना तथा रोटी वितरण गरिरहेका छन् ।
ओसीएचएले जनाएअनुसार, इजरायली अधिकारीहरूबाट थप राहत सामग्री पठाउन आवश्यक स्वीकृति प्राप्त भइसकेको छ । यसअनुसार करिब एक लाख ९० हजार मेट्रिक टन खाद्यान्न, औषधी, आश्रय सामग्री लगायतका आवश्यक वस्तुहरू आपूर्तिको तयारीमा छन् । ओसीएचले भनेको छ,“यो सहयोग अभियानको सुरुआत मात्र हो ।”
युद्धविरामको पहिलो ६० दिनभित्र गाजाभर जीवनरक्षक सेवा तथा सामग्री पुर्याउने उद्देश्यले सहायता कार्यलाई विस्तार गर्ने योजना रहेको बताइएको छ । संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता तथा आपतकालीन राहत समन्वयकर्ता टम फ्लेचरले बिहीबार पत्रकारलाई जानकारी दिँदै भन्नुभयो,“हामीले पहिलो ६० दिनको अवधिमा दैनिक सयौं ट्रकमार्फत करिब एक लाख ७० हजार मेट्रिक टन राहत सामग्री खाद्यवस्तु, औषधी तथा अन्य आवश्यक सामग्री गाजामा पुर्याउने तयारी गरिरहेका छौँ ।”
उहाँका अनुसार, यो अभियान अन्तर्गत करिब २१ लाख जनतालाई खाद्य सहायता, पाँच लाख जनालाई पोषण सेवा, १४ लाख जनालाई पानी तथा सरसफाइ सेवा उपलब्ध गराइनेछ । साथै, आश्रयका लागि व्यापक स्तरमा पाल तथा सामग्रीको व्यवस्था गरिनेछ भने करिब सात लाख स्कुले बालबालिकाका लागि अस्थायी शिक्षण केन्द्र पुनः सञ्चालन गरिने योजना छ ।
गाजामा युद्धविरामको सम्झौता इजरायल र हमासबिच गत शुक्रबारदेखि लागू भएको हो । सो सम्झौता इजिप्टको शार्म एल-शेखमा तीन दिनसम्म चलेको वार्तापछि सम्पन्न भएको हो, जसमा इजिप्ट, कतार, टर्कीए र संयुक्त राज्य अमेरिकाले मध्यस्थता गरेका थिए । रासस/सिन्ह्वा