प्रेमराज सिम्खडा
कालीकोट, असोज २७ गते । कर्णालीको पहाडी गाउँका डाँडाकाँडामा राम्रो फष्टाउने टिमुर अहिले कालीकोटका किसानका लागि हरियो सुन सावित हुँदैगएको छ ।
पहिले जंगलमा मात्र पाइने टिमुर अहिले किसानले आफ्नै बारी र खेतका किनारमा रोप्न थालेका छन् । यसको सुगन्धित फल अहिले बजारमा महँगो मूल्यमा बिक्री हुन थालेको छ । प्रतिकिलो एक हजार रुपियाँमा किसानले बारीबाटै बिक्री गर्नेगरेका छन् ।
कालीकोटको शुभकालिका गाउँपालिका –४ मा टिमुरको ब्यबसायी खेती गरिएको छ । स्थानीय रमेश सुनारले घरमै ब्यापारी आएमा प्रतिकिलो एक हजारमा खरिद गरिलिने गरेको बताउनुभयो । आफ्नो घरको आँगनभरी टिमुर छ ।
पहिला थाहा भएन, अहिले यसको संरक्षण गर्दा बर्षमा ३० देखि ४० हजारसम्म आम्दानी हुनेगरेको सुनारको भनाइ छ । वडा –४ का प्रायः किसानले आफ्नो बारीमा टिमुर संरक्षण गरेका छन् । सबैले बर्षमा न्युनतम पाँच हजार र अधिक्तम ५० हजारसम्म आम्दानी गर्नेगरेको सुनारले सुनाउनुभयो ।
टिमुर कर्णाली, गण्डकी र सुदूरपश्चिमको अधिकांश पहाडी जिल्लामा फस्टाउने सुगन्धित बोट हो । कालीकोट, जुम्ला, दैलेख, जाजरकोट, हुम्ला र मुगुजस्ता जिल्लामा यसको खेती विस्तार हुँदैगएको छ । सुक्खा, पथरीला र हल्का माटोमा राम्रोसँग बढ्ने टिमुरको बोट एक हजारदेखि दुई हजार मिटर उचाइमा राम्रोसँग फस्टाउँछ ।
पहिले जंगलबाट संकलन गरेर घरखर्च चलाउने किसानहरू अहिले आफ्नै खेतमा टिमुर रोप्न थालेका छन् । सान्नीत्रिवेणी गाउँपालिका किसान मदनबहादुर शाहीले पहिला हामी टिमुर जंगलबाट टिप्थ्यौं, अहिले आफ्नै खेतका किनारमा रोपेको र वर्षमा १५–२० किलो उत्पादन हुनेगरेको बताउनुभयो ।
उहाँले प्रतिकिलोको एक हजार रुपियाँमा बिक्री गर्नेगरेको सुनाउनुभयो । टिमुरले हाम्रो घरखर्च चलाउन ठुलो सहयोग गरेको छ, शाहीले सुनाउनुभयो ।
टिमुरको औषधी र मसला दुबै प्रयोग हुनेगरेको छ । स्वास्थ्यकर्मीको अनुसार यसको फल र बोक्रामा पाइने तत्वहरूले पाचन सुधार्ने, दाँत दुखाइ कम गर्ने, रुघाखोकी नियन्त्रण गर्ने तथा एन्टिब्याक्टेरियल र एन्टिफङ्गल गुण प्रदान गर्नेगर्छ ।
टिमुरको स्वादले माछा, मासु, अचार, गुन्द्रुक, सेलरोटीदेखि विभिन्न परिकारमा यसको प्रयोग बढ्दैगएको छ । टिमुरको सुकाइएको फल बजारमा अहिले प्रतिकिलो १२ सयदेखि १५०० रुपियाँसम्म बिक्री हुन्छ ।
गाउँका महिलाहरू घरमै फल सुकाएर सहकारीमार्फत बिक्री गर्छन् भने कतिपयले ब्यापारीमार्फत बिक्री गर्नेगरेका छन् । यसले गाउँमा घरेलु रोजगारी र आम्दानी दुबै सिर्जना गरेको छ । खाँडाचक्र नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जसिप्रसाद चौलागाईले आफ्नो गाउँ शुभकालिकातिर महिलाहरु समूह बनाएर टिमुर टिप्ने र बिक्री गरेको रकम कोषमा राख्नेगरेको सुनाउनुभयो ।
गाउँका मिल्ने पाँच, छजना महिलाले टिमुर सुकाएर बिक्री गर्छन् । वर्षमा ५०–६० हजार रुपियाँ सजिलै जम्मा गर्छन् । त्यो पैसा राम्रो ब्यापारीलाई चलाउन दिन्छन् । त्यसबाट आएको ब्याज जसलाई आवश्यक प्रयोग खर्च गर्ने र सस्तो ब्याजमा दिने गरेको चौलागाईले सुनाउनुभयो । यसलेगर्दा महिलालाई आत्मनिर्भर बनाएको छ ।
नेपालको टिमुर अहिले भारत, चीन, जापान र युरोपसम्म निर्यात हुँदैआएको छ । यदि टिमुरको प्रशोधन, प्याकेजिङ र गुणस्तर सुधारमा ध्यान दिइयो भने यसको मूल्य दोब्बर हुनेछ । जडिबुटी ब्यावसायी मुक्तिप्रसाद सञ्ज्यालले टिमुरको माग बढिरहेको तर पुगाउन नसकिएको बताउनुभयो ।
अन्धाधुन्ध संकलन र बोट काट्ने प्रवृत्तिले टिमुरका प्राकृतिक बोटहरू घट्दै गएका छन् । विशेषज्ञहरूले टिमुर खेतीलाई दिगो बनाउन स्थानीय तहले बीउ वितरण, कलमी प्रविधि र बजार व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको सुझाव दिएका छन् ।