• २७ असोज २०८२, सोमबार

हमासद्वारा इजरायली बन्धकको हस्तान्तरण सुरु, युद्धविराम कार्यान्वयनतर्फ ठूलो कदम

blog

गाजा सिटी (प्यालेस्टिनी क्षेत्र), असोज २७ गते । हमासले सोमबार गाजामा रहेका २० जीवित इजरायली बन्धकमध्ये पहिलो सात जनालाई अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधिलाई हस्तान्तरण गरेको छ ।

यस घटनाले तेल अभिवमा हर्षोल्लासको वातावरण सिर्जना गरेको छ । त्यहाँ बन्धक परिवारलाई समर्थन गर्न सयौँ मानिस होस्टेज स्क्वायरमा भेला भएका थिए । दुई वर्ष लामो विनाशकारी युद्धपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा सम्पन्न युद्धविराम सम्झौता अन्तर्गत हमासले इजरायलमा बन्दी बनाइएका प्यालेस्टिनी कैदीको सट्टामा सबै बाँचेका बन्धकलाई क्रमिकरूपमा रिहा गर्ने वाचा गरेको छ । 

ट्रम्पले युद्ध ‘समाप्त भएको’ घोषणा गर्दै यही सम्झौताको कार्यान्वयनको निरीक्षणका लागि क्षेत्रीय भ्रमण सुरु गर्नुभएको छ । “रेडक्रसका अनुसार सात जना इजरायली बन्धकलाई आफ्नो हिरासतमा लिइसकेको छ र तिनीहरूलाई गाजापट्टीबाट आइडिएफ र आइएसए सेनाको जिम्मामा ल्याइँदैछ”, इजरायली सेना र सुरक्षा सेवाले संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्, “आइडिएफ थप बन्धक प्राप्त गर्न तयार छ, जसलाई पछि रेडक्रसको माध्यमबाट स्थानान्तरण गरिने अपेक्षा गरिएको छ ।” तेल अभिवमा बन्धक मुक्त भएको खबर सुनेपछि भावनात्मक दृश्य देखिएको थियो ।

 होस्टेज स्क्वायरमा भेला भएका मध्ये नोगा नामकी एक महिलाले भन्नुभयो, “म खुशी र पीडाबिच छु-खुशी छु कि केही फर्किए, तर हृदयभरी पीडा छ ती नफर्किएका प्रियजनका लागि ।” सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको अभूतपूर्व आक्रमणमा एक हजार २१९ जना मानिस मारिएका थिए, जसमा अधिकांश नागरिक थिए । त्यस दिन हमासले २५१ जना इजरायलीलाई बन्धक बनाएको थियो । 

तीमध्ये अधिकांश बन्धक पछि क्रमशः मुक्त भए पनि ४७ जना अझै पनि युद्ध सुरु हुनुअघिसम्म बन्धककै रूपमा थिए । उनीहरूको परिवारले लामो समयदेखि पीडा र अनिश्चितताको जीवन बिताउँदै आएका छन् । गाजामा पनि युद्धविरामले केही राहत दिएको छ, तर युद्धले सहरका ठूला भाग ध्वस्त बनाइदिएको छ । 

३८ वर्षीया फातिमा सलेमले गाजा सहरमा आफ्नो भग्नावशेष बनेको घर फर्किएपछि भन्नुभयो, “म शेख रादवान फर्किंदा काँपिरहेकी थिएँ । मैले गुमाएको ठाउँ खोजिरहेकी थिएँ—केही पनि उस्तै थिएन । छिमेकीका घरसमेत हराइसकेका थिए । थकान र डरबिच पनि मलाई लाग्यो, म मेरो घर फर्किएकी छु । अहिले यो केवल भग्नावशेष हो, तर हामी यहीँ एउटा पाल हालेर पुनर्निर्माणको प्रतीक्षा गर्नेछौँ ।”

यसबिच, अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायल र इजिप्ट भ्रमणको सुरुआत गर्नुभएको छ । उहाँको भ्रमणको उद्देश्य युद्धविराम र बन्धक मुक्तिको सम्झौतामा आफ्नो मध्यस्थ भूमिकाको सफलता मनाउनका साथै आगामी शान्ति प्रक्रियालाई अघि बढाउनु रहेको छ । ट्रम्पले एयर फोर्स वनमा पत्रकारसँग कुरा गर्दै भन्नुभयो, “मलाई लाग्छ यो युद्धविराम कायम रहन्छ । मानिस युद्धबाट थकित भइसकेका छन्  याे शताब्दीयौँदेखि चल्दै आएको सङ्घर्ष हो, अब अन्त्यको समय आएको छ । युद्ध समाप्त भयो, ठिक छ ? तपाईंले त्यो बुझ्नुभयो ?”

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयका प्रवक्ताले सोमबार बिहानसम्म सबै २० जना जीवित बन्धक रेडक्रसमार्फत रिहा हुने अपेक्षा गरिएको बताए । इजरायलले तिनीहरूको सुरक्षित हस्तान्तरण पुष्टि भएपछि करिब दुई हजार प्यालेस्टिनी कैदीको रिहाइ सुरु गर्नेछ । ट्रम्पले सेप्टेम्बरमा सार्वजनिक गरेको २० बुँदे शान्ति योजनाको कार्यान्वयनका सन्दर्भमा यो भ्रमणलाई ‘ऐतिहासिक क्षण’ का रूपमा चित्रण गर्नुभएको छ । वासिङ्टन नजिकैको जोइन्ट बेस एन्ड्रुजबाट प्रस्थान अघि उहाँले भन्नुभयो, “यो क्षणको लागि सबैजना अत्यन्त उत्साहित छन् ।”

तर सम्झौताका केही अन्तिम विवरणमा अझै मतभेद रहेको बताइन्छ । दुई हमास स्रोतका अनुसार समूहले इजरायलसँग भएको आदानप्रदान सूचीमा सात वरिष्ठ प्यालेस्टिनी नेताको नाम समावेश गर्न आग्रह गरिरहेको थियो, जसलाई इजरायलले अस्वीकार गरेको बताइएको छ । तथापि, स्रोतले सबै जीवित बन्धकको हस्तान्तरणका लागि तयारी पूरा भएको जनाएका छन् । इजरायलले भने सबै मृत बन्धकको अवशेष सोमबारमै फिर्ता हुने अपेक्षा गरेको छैन ।

सम्झौताअनुसार हमासले बाँकी ४७ जना बन्धक र सन् २०१४ को युद्धमा मारिएका एक इजरायली सैनिकको अवशेष पनि हस्तान्तरण गर्नेछ । इजरायलले फिर्ता गर्ने २५० कैदीमध्ये धेरै जना सुरक्षासम्बन्धी अपराधमा दोषी ठहरिएका छन् भने युद्धका क्रममा गाजामा इजरायली सेनाले करिब एक हजार ७०० जनालाई हिरासतमा लिएको थियो ।

इजरायल भ्रमणपछि राष्ट्रपति ट्रम्प इजिप्ट पुग्ने कार्यक्रम छ । त्यहाँ उहाँ र राष्ट्रपति अब्देल फताह अल–सिसीले २० भन्दा बढी विश्व नेताहरू सहभागी हुने गाजा शान्ति शिखर सम्मेलनको सह–आयोजना गर्नुहुनेछ । सम्मेलनको उद्देश्य गाजा युद्धको अन्त्य र मध्यपूर्वमा दीर्घकालीन शान्ति स्थापनाका प्रयासलाई बलियो बनाउनु हो ।

ट्रम्पले आफ्नो प्रस्तावित योजना अन्तर्गत गाजाका लागि नयाँ प्रशासकीय निकाय ‘छिट्टै’ गठन हुने बताउँदै यस निकायलाई अमेरिकी नेतृत्वमा स्थापित बहुराष्ट्रिय संयन्त्रले सहयोग गर्ने स्पष्ट गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घले विश्वसनीय ठानेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायली आक्रमणका कारण कम्तीमा ६७ हजार ८०६ जनाको ज्यान गइसकेको छ । उक्त तथ्याङ्कमा नागरिक र लडाकुबिच छुट्याइएको छैन, तर मृतकमध्ये आधाभन्दा बढी महिला र बालबालिका रहेको अनुमान गरिएको छ । रासस/एएफपी