सुजन बज्राचार्य
सङ्खुवासभा, असोज २७ गते । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलले यात्रुलाई बराबर सुविधा हुने गरी भीआईपी कक्ष बन्द गरेको छ। विमानस्थल प्रशासनका अनुसार जेनजी आन्दोलनपछि सुरक्षासम्बन्धी चुनौती र भीआईपी कक्षको अनावश्यक प्रयोगका कारण उक्त सेवा स्थायी रूपमा बन्द गरिएको हो।
विगतमा राजनीतिक दलका नेतासहित विशिष्ट व्यक्तिहरू भीआईपी कक्ष प्रयोग गर्ने र उनीहरूका समर्थकहरू नाराबाजीसहित भिडभाड गर्ने गरेका कारण विमानस्थलमा सुरक्षा चुनौती हुने गरेको थियो।
विमानस्थल प्रमुख नवराज दाहालले केन्द्रको निर्देशनअनुसार भीआईपी कक्ष बन्द गरिएको जानकारी दिनुभयो । अब सबै यात्रुले सामान्य यात्रु कक्षबाटै सेवा लिनुपर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो।
उहाँका अनुसार भीआईपी कक्ष बन्द भएपछि विमानस्थलमा शान्त वातावरण कायम भएको र यात्रुले सहज अनुभव गरेका छन्। हाल तुम्लिङटार विमानस्थलमा बुद्ध एयरको ७२ सिटे विमानले काठमाडौँ–तुम्लिङटार–काठमाडौँ दैनिक उडान सञ्चालन गर्दै आएको छ।