टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), असोज २७ गते । गुल्मीको धुर्कोट गाउँपालिका–३, हाडहाडेका युवा भविन्द्र घर्तिमगरको फर्ममा फूलको ठुलो बगैँचा छ । उहाँले दुई वर्षदेखि फूलको व्यावसायिक खेती गर्दै आउनुभएको छ । दसैँबाट छिटफुट फूल बेच्न सुरु भएको उहाँको भनाइ छ ।
तिहारमा राम्रो फूल बेच्न सक्ने गरेर व्यावस्थापकीय काम भइरहेको छ । टर्नेलमा दुई हजार बढी सयपत्री फूलका बिरुवा छन् । टर्नेलभित्रको खेती भएका माघ–फागुनसम्म फूल उत्पादन हुने घर्तिमगरले बताउनुभयो । अहिले प्रतिकिलो ५०० रुपियाँमा फूलको बिक्री भइरहेको छ ।
गत वर्ष पनि टर्नेल र बाहिर गरेर तीन हजार बढी फूल थिए । उहाँले बाहिर लगाएको छिटो कुहिएर सकिने भएकाले अहिले सबै टर्नेलभित्र लगाइएको बताउनुभयो । घर्तिलाई कहिल्यै प्रदेश मोह जागेन । स्नातक पढ्दा–पढ्दै कृषि कर्म गर्ने सोँच पलायो ।
उहाँले रेसुङ्गा नगरपालिका–१०, सिमीचौरमा २०७२ सालबाट व्यावसायिक रूपमा कृषि र पशुपालन थाल्नुभयो । घर्तिमगरले आठ वर्ष सिमिचौरमा काम गरेपछि २०७९ सालबाट रेसुङ्गा नगरपालिका–३, को बेहोरेमा व्यावसायिक रूपमा तरकारी, पशुपालन र फूल खेती गरिरहनु भएको छ ।
अहिले फर्ममा २०–२२ वटा बङ्गुर र १५ वटा बाख्रा छन् । गोपी, काउली, काँक्रा, टमाटर लगायतका सबैखाले तरकारी पनि उत्पादन भएका छन् । वर्षमा २५–३० लाखको तरकारी र २० लाख रुपियाँ बराबरको बङ्गुरको कारोबार हुने घर्तिमगरको भनाइ छ ।
उहाँले एक लाख ७० हजार रुपियाँ बार्षिक बुझाउने गरेर १० बर्षको लागि सय रोपनी जग्गा भाडामा लिनुभएको छ । सरकारी निकायको सहयोग तथा अनुदान र व्यक्तिगत गरेर ५० लाख रुपियाँभन्दा बढी लगानी रहेको घर्तिमगरले बताउनुभयो ।
सत्यवति गाउँपालिका –१ अस्लेवा मोहोलेका हुमा न्यौपानेले पाँच रोपनी जग्गामा चार हजार २०० बढी फूल रोप्नुभएको छ । अहिले फूल टिप्ने र बेच्ने चटारोमा न्यौपाने हुनुहुन्छ । यो न्यौपानेको पहिलो अनुभव हो । योभन्दा पहिले २५ मुरी धान फल्ने खेतमा अहिले फूलको बगैँचा । नयाँ खेतीको चाहनाको कारण धान छोडेर फूल रोपेको न्यौपानेले बताउनुभयो ।
अहिले गाउँपालिका भित्रकै बजार र छिमेकहरुको पूजाहरुमा फूल बिक्री भइरहेको छ । ठुलो परिणाममा माग भए बाहिर पनि पठाउन सकिने बताउनुभयो । अहिले निरन्तर बर्सा भएकाले केही बिरुवाहरु मरेको न्यौपानेले बताउनुभयो । उहाँ अहिले बजार र मूल्य राम्रो पाएमा आगामी बर्ष क्षेत्रफल बढाएर फूल रोप्ने योजनामा हुनुहुन्छ । व्यावसायिक फूल कृषक गोकर्ण नेपालीले फूल खेती रहर मात्रै नहुने बताउनुहुन्छ ।
टर्नेलमा लगानी गर्न नसके बाहिर बारीमा उत्पादन भएको फूलबाट केही फाइदा नहुने नेपालीले बताउनुभयो । बाहिरको फूल बर्सा, शित र कुहिरोले कुहिने समस्या भएकाले अहिले आफुले गत बर्षभन्दा निकै कम फूल रोपेको गुनासो गर्नुभयो । धुर्कोट गाउँपालिकाले भारतीय प्लाष्टिकका मालाहरुलाई २०७५ सालबाटै प्रतिबन्ध लगाएको छ ।
गाउँपालिकाले घर–घरमा फूल रोप्ने अभियानका साथ व्यावसायिक फूलखेती गर्नेहरुलाई प्रोत्साहनको काम भइरहेको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेलले बताउनुभयो ।