राजन रावत
हुम्ला, असोज २७ गते । वडा स्तरमा सञ्चालन गरिएको राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्ने कार्यमा ३२ सय बढीले आफ्नो विवरण प्रविष्ट गराउनुभएको छ । विशेष अभियानका रूपमा सञ्चालन गरिएको सो कार्यमा चार वटा गाउँपालिकाका स्थानीयले उक्त विवरण प्रविष्ट गराउनु भएको हो ।
दुई हप्तामा चार वटा गाउँपालिकाका वडा स्तरमा सञ्चालन गरिएको राष्ट्रिय परिचयपत्रका लागि विवरण प्रविष्ट गराउने कार्यमा तीन हजार २६३ जना सहभागी भएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताउनुभयो ।
गत भदौ ३० गतेबाट सो कार्य सुरु भएको थियो । विशेषगरी सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीका लागि उक्त कार्य वडा स्तरमा सञ्चालन गरिएको थियो । पछिल्लो पटक गरिएको यो कार्यमा राष्ट्रिय परिचयपत्र निर्माणका लागि आफ्नो विवरण प्रविष्ट गराउनेमा असी प्रतिशत जेष्ठ नागरिक रहेको बताउँदै उहाँले बाँकी अपाङ्गता भएकाहरूको विवरण लिने कार्य भएको बताउनुभयो ।
अभियानमा उत्साहपूर्वक राष्ट्रिय परिचयपत्र बनाउनका लागि सेवाग्राहीको सहभागिता रहेको बताउँदै उहाँले अब जेष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ताको समस्या पनि समाधान हुने जानकारी दिनुभयो । अभियानमा नाम्खा गाउँपालिकामा चार स्थानमा सञ्चालन गरिएको र जसमा एक हजार १५२ जनाले आफ्नो विवरण प्रविष्ट गराउन सफल भएका छन् ।
त्यसैगरी अदानचुली गाउँपालिकाका चार स्थानमा सञ्चालन गरिएकोमा ७१८ जनाले आफ्नो विवरण प्रविष्ट गरेका छन् । त्यसैगरी खार्पुनाथमा ८८५ जना र सिमकोट गाउँपालिकाको दुई स्थानमा अभियान सञ्चालन गर्दा ५०८ जनाले आफ्नो विवरण प्रविष्ट गरेका छन् यो अभियान सञ्चालन गर्नका लागि गृहमन्त्रालयबाट आएको छ सदस्यीय टोलीलाई तीन समूहमा विभाजन गरी चार वटै गाउँपालिकाका वडा स्तरमा खटनपटन गरिएको थियो ।
यो अभियान सञ्चालन नगरेको भए यसवर्ष धेरै जेष्ठ नागरिकहरू आफ्नो सामाजिक सुरक्षा भत्ता पाउनबाट बन्चित हुनु पर्ने अवस्था रहेको थियो । राष्ट्रिय परिचयपत्र बनाउनका लागि भर्नु पर्ने विवरण गाउँपालिकाका वडा स्तरमा टोली खटिएपछि धेरै सहज भएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताउनुभयो । यसका लागि टोलीलाई गाउँपालिकाले राम्रो समन्वय समेत गरेको थियो । यसरी राष्ट्रिय परिचयपत्रका लागि ९७ वर्षसम्मका जेष्ठ नागरिकले आफ्नो विवरण प्रविष्ट गराउने कार्य भएको हो ।