विजयकुमार साह
ढल्केबर, असोज २७ गते । दीपावली र छठ पर्व नजिकिँदै गर्दा धनुषाको क्षरेश्वरनाथ नगरपालिका–९, इच्छापुरका कुम्हार समुदाय दियो लगायत माटोको भाँडा बनाउने काममा व्यस्त भएका छन् । दीपावली र छठ पर्वमा माटोका दियो, कलश, घैला, चौमुखे दियो लगायतका भाँडाको माग अत्यधिक हुने भएकाले उहाँहरू अहिले बिहान सबेरैदेखि रातिसम्म माटोको भाँडा बनाउन व्यस्त भएका हुन् ।
स्थानीय कुम्हार परिवारका सदस्यहरू अहिले घरका अन्य कामबाहेक सबै समय दियो र माटाका भाँडा बनाउनमा खर्चिरहेका छन् । दीपावली र छठ नजिकिँदा माग बढेकाले उहाँहरूलाई अन्य कामका लागि फुर्सदै छैन । इच्छापुर गाउँमा मात्रै करिब ५० घरपरिवार कुम्हार समुदाय बसोवास गर्छन्। ती सबै परिवार दिनरात भाँडा उत्पादन व्यस्तता छन्।
इच्छापुरका रामरतन पण्डितले दुई साताअघिदेखि नै दियोलगायत माटोको भाँडा बनाउन सुरु गरेको बताउनुभयो । उहाँले माटोका भाँडा बनाउन प्रयोग गर्ने ‘कम्हरौटी’ माटो सजिलै सबै ठाउँमा नपाइने हुँदा टाढा–टाढाबाट माटो ल्याएर काम गर्न बाध्यता रहेको सुनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले दुई हप्ता अघि नै सराबे भन्ने स्थानबाट राम्रो माटो ल्याएर जोहो गरेका छौं । नजिकमा यस्तो माटो पाइँदैन, त्यसैले टाढाबाट किनेर ल्याउनुपर्छ।’ राम्रो माटो बिना गुणस्तरीय भाँडा बनाउन सकिँदैन त्यसैले चाडपर्व आउनु अघि नै माटो जम्मा गरेर राख्नुपर्ने समस्या रहेको रामरतनले बताउनुभयो ।
उहाँका अनुसार हाल बजारमा बिजुलीका झिलिमिली बत्तीहरू सर्वत्र प्रचलनमा भए पनि माटाका दियोको माग घटेको छैन । उहाँले थप्नुभयो, ‘बजुलीको बत्ती भए पनि दीपावलीको असली शोभा त माटाको दियोमै हुन्छ । यसैले हाम्रा दियो बिक्रीमा कुनै समस्या छैन ।’
दीपावलीमा प्रयोग हुने सादा, चौमुखे, सिङ्गारिएका दियो तथा छठ पर्वमा प्रयोग हुने कलश, घैला, हात्तीलगायत माटाका भाँडासम्म अहिले बनाइरहेको सोही ठाउँका गणेश पण्डितले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दीपावली र छठ पर्व हामीहरूका लागि वर्षको सबैभन्दा ठुलो अवसर हो । यतिबेला हामीले धेरै माटोका समान बनाएर बेच्न सक्यौं भने वर्षभरिको खर्च चलाउन सजिलो हुन्छ ।’
उहाँले परिवारका सम्पूर्ण सदस्य बिहानदेखि साँझसम्म काममै व्यस्त रहेको बताउँदै दियो, कलश, घैला, चौमुखे दियो जस्ता सामग्री बनाउन भ्याइनभ्याइ भएको जानकारी दिनुभयो ।
त्यसैगरी, सोही ठाउँका शिवनारायण पण्डितको परिवार पनि चाडपर्व लक्षित भाँडाकुँडा बनाउन व्यस्त छ । उहाँका अनुसार तिहार र छठमा खर्च कटाएर ती समान बेच्दा करिब ४०–४५ हजार रुपियाँसम्म आम्दानी हुने गर्छ । हाम्रो लागि यो समय वर्षभरको मुख्य आम्दानी गर्ने अवसर भएको उहाँले सुनाउनुभयो ।