• २७ असोज २०८२, सोमबार

छायानाथरारा क्षेत्रभित्र प्लास्टिकका माला बिक्री गर्न नपाइने

blog

हरिकृष्ण ऐडी

मुगु, असोज २७ गते । मुगुको छायानाथरारा नगरपालिकाले नगरक्षेत्रभित्र रहेका कृषक तथा व्यवसायीलाई प्लास्टिकजन्य माला र कृत्रिम फूल सजावट सामग्री बिक्री नगर्न अनुरोध गरेको छ । 

नगर प्रमुख विष्णुकुमार भामको अध्यक्षतामा बसेको सरोकारवालासँगको बैठकले आगामी दीपावली (तिहार) पर्वलाई लक्षित गर्दै नगर क्षेत्रमा उत्पादित प्राकृतिक पुष्पखेतीलाई प्रवर्धन गर्ने निर्णय गरेको हो ।

बैठकले वातावरणमैत्री कार्यलाई प्रोत्साहन गर्ने र स्थानीय कृषकलाई फूल उत्पादनमा प्रेरित गर्ने उद्देश्यले प्लास्टिकजन्य सजावट सामग्रीको प्रयोग तथा बिक्री रोक्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । नगर प्रमुख विष्णुकुमार भामले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै नगरलाई हरियाली र सफा बनाउने उद्देश्यले सबै पक्षले सहयोग गर्नुपर्ने बताउनुभयो ।

नगरपालिकाले उक्त निर्णय कार्यान्वयन गर्न सबै वडा कार्यालय, प्रहरी, स्थानीय प्रशासन र उद्योग वाणिज्य सङ्घलाई  अनुरोध गरेको नगर प्रमुख भामले बताउनुभयो।  यसमा सबैले सहयोग गर्न अपिल गरिएको छ।

स्थानीय उत्पादनको प्रवर्धनका लागि यो निर्णय लाभप्रद हुने तथा प्लास्टिकजन्य प्रदुषण कम गर्न मद्दत पुग्ने भामको  विश्वास छ।