• २७ असोज २०८२, सोमबार

दशरथचन्दमा स्वास्थ्यचौकी भवन छ वर्षदेखि अलपत्र

blog

बैतडीको दशरथचन्द नगरपालिका–५ साजिबाटामा निर्माणाधीन स्वास्थ्यचौकी भवन । तस्बिर : केशवराज भट्ट

केशवराज भट्ट 
वासुलिङ (बैतडी), असोज २७ गते ।
दशरथचन्द नगरपालिका–५ साजिबाटामा निर्माणाधीन स्वास्थ्यचौकी भवन छ वर्षदेखि अधुरो अवस्थामा छोडिँदा स्थानीयवासी मारमा परेका छन् । निर्माणकार्य रोकिएपछि भवन परिसर झाडी र बोटबिरुवाले ढाक्न थालेको स्थानीयले बताएका छन् ।

नगरपालिकाले २०७७ सालमा बिग बी एण्ड कम्पनीसँग स्वास्थ्यचौकी भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार २०८० सालभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म कुनै प्रगति भएको छैन ।

लामो समयदेखि निर्माणकार्य रोकिँदा पनि न ठेक्का रद्द भएको छ, न त निर्माण कम्पनीले काम अघि बढाएको छ । ''स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा नगरपालिकाले बेवास्ता गरेको छ,'' स्थानीय नारायण भट्टले गुनासो गर्दै भन्नुभयो, ''हामी वर्षाैंदेखि प्रतीक्षामा छौं, तर भवन रुग्ण अवस्थामा पुगेको छ ।''

यस्तै, स्थानीय सुनीता भट्टका अनुसार निर्माण कार्य थालनी भएको केही समयमै बन्द भएको थियो । ''अब भवनभन्दा झाडी बढी देखिन्छ,'' उहाँले भन्नुभयो ।

दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजेन्द्र बिष्टले निर्माण कार्य पुनः सुरु गर्नका लागि निर्माण कम्पनीसँग छलफल भइरहेको र केही प्राविधिक समस्या समाधान भएसँगै काम सुरु हुने बताउनुभयो ।

उता निर्माण व्यवसायी विकास चन्दले पनि नगरपालिकाले आवश्यक सहजीकरण गर्ने आश्वासन दिएको र नजिकैका दिनमा काम पुनः सुचारु गर्ने तयारी भइरहेको बताउनुभयो । २०७८ सालमा तत्कालीन प्राविधिक कर्मचारीले घुस मागेको विवादपछि कम्पनीले काम रोकेको थियो । त्यसयता भवन निर्माणकार्य स्थगित हुँदै आएको छ ।