• २७ असोज २०८२, सोमबार

सञ्चालनमा आएको राजविराज बसपार्क पुनः सुनसान

blog

सञ्चालनमा आएको बसपार्क सुनसान । तस्बिर : सुधा देव

सुधा देव
भारदह(सप्तरी), असोज २७ गते ।
जेनजी समूह, स्थानीय जनप्रतिनिधि, स्थानीय सरोकारवाला निकाय लगायतको प्रयासमा उद्घाटन भएको साढे चार महिनापछि शनिबार सञ्चालनमा आएको राजविराज बसपार्क आइतबारदेखि पुनः सुनसान बनेको छ ।

यातायात व्यवसायीसँग सहमति हुन नसकेपछि बसपार्क सञ्चालन अन्योल बनेको हो । जेनजी समूह, यातायात व्यावसायी, जनप्रतिनिधि तथा स्थानीय सरोकारवालाहरू बसपार्क सञ्चालनका लागि आइतबार बसेको बैठकमा सहमति जुट्न नसकेपछि बसपार्क सञ्चालन पुनः अन्योल बनेको हो ।

यातायात व्यावसायीहरूले बैठकमा बसपार्क सञ्चालन, उद्घाटन, रूट, व्यवस्थापन तथा सडक विषय गरी पाँचबुँदे ज्ञापनपत्र नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनलाई ज्ञापनपत्र बुझाएका थिए ।

कार्यवाहक नगरप्रमुख परविनले ज्ञापनपत्रको चार बुँदामा सहमति भए पनि एक पटक उद्घाटन भइसकेको बसपार्क पुनः उद्घाटन गर्ने नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘उद्घाटन भइसकेको बसपार्क सञ्चालनको कार्यक्रम आयोजना गरेर उद्घाटनमा सहभागी नभएकाहरूलाई सहभागी गराइने छ ।’’

बसपार्क सञ्चालन नभएपछि राजविराजको मुख्य सडकहरूमा बस तथा सवारीसाधन पार्किङ हुँदै आएपछि अस्तव्यस्त सडकमा सर्वसाधारणले सास्ती ब्यहोर्दै आउनुपरेकाले  राजविराज बसपार्क तत्काल सञ्चालनका लागि सबै नगरवासीलाई आ–आफ्नो ठाउँबाट सहयोग गरिदिन उहाँले आग्रह गर्नुभएको छ ।

चार दशकदेखि बसपार्कविहीन रहेको जिल्लामा १५ करोड ६० लाख रूपियाँको लागतमा निर्माण भएको बसपार्क गत जेठ १५ गते उद्घाटन गरिएको थियोे ।