• २७ असोज २०८२, सोमबार

इमेज सहकारीका अध्यक्षविरुद्ध मुद्दा दायर

blog

ढोरपाटन नगरपालिकाका प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्था बागलुङका संस्थापक देवकुमार नेपालीलाई अदालततर्फ लगिँदै ।

बागलुङ समाचारदाता

बागलुङ, असोज २७ गते । ढोरपाटन नगरपालिकाका प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्था बागलुङका संस्थापक देवकुमार नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको हो । 

उक्त मुद्दाको जाहेरी जिल्ला सरकारी वकिलको कार्यालयले वेबसाइटमा प्रकाशित गरेको छ । नेपाली सहकारी ठगी मुद्दामा एक वर्षदेखि जिल्ला कारागार बागलुङमा थुनामा हुनुहुन्छ । महान्यायाधिवक्ताको कार्यालयमार्फत सरकारी वकिलको कार्यालयमा एक वर्षअघि नै उहाँको मुद्दा तयार थियो । केही बचतकर्ताको रकम फिर्ता भए पनि नेपालीविरुद्ध अर्को मुद्दा दर्ता भएको हो । 

विसं २०८१ जेठमा सरकारी वकिलको कार्यालयमा आइपुगेको उक्त मुद्दाको मिसिल अध्ययनपछि अदालतमा दर्ता भएको हो । नेपालीविरुद्ध एक अर्ब ५८ करोड रुपियाँ बिगो मागदाबीसहित शुद्धीकरण मुद्दा दर्ता भएको जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो । 

सहकारी ठगी मुद्दामा कारागारमा रहेका नेपालीले एक लाख रुपियाँभन्दा कम बचतकर्ताको रकम फिर्ता गरिसक्नुभएको छ । २०८० को वैशाखमा तरलता अभाव देखाएर सहकारी बन्द गरिएको थियो । २०८० कै जेठदेखि नेपाली फरार हुनुहुन्थ्यो । भारतमा पक्राउ गरेर नेपालीलाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि कारागार पठाएको थियो । 

नेपालीविरुद्ध एक हजार ५४३ जना बचतकर्ताले रकम ठगी गरेको आरोपमा जाहेरी परेपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । नेपालीले बचतकर्ताको एक अर्ब ५८ करोड रुपियाँ हिनामिना गरेको उल्लेख छ । त्यसबाहेक विभिन्न सहकारी संस्थाबाट ऋण लिएर नतिरेपछि उहाँको घरजग्गा लिलाम भएको छ । राष्ट्रिय सहकारी बैङ्कले सदरमुकामस्थित दुई वटा घर २२ करोड रुपियाँमा लिलाम गरिसकेको छ भने बुर्तिबाङस्थित केही घरजग्गा अन्य बैङ्कले लिलामीको प्रक्रियामा लगेका छन् । बचतकर्ताले भने अझै रकम फिर्ता नपाएको गुनासो गरेका छन् ।