• २७ असोज २०८२, सोमबार

मेची राजमार्गको विकल्प,सिमल गोलाई–तिल्केनी सडक खोलिने

blog

वैकल्पिक सडकका रूपमा तयार गर्न थालिएको सिमल गोलाई–तिल्केनी सडक अन्तर्गत जोगमाई खोला क्षेत्र । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, असोज २७ गते  । मेची राजमार्ग अवरुद्ध भएको साता दिन बित्दा पनि सडक सुचारु हुन नसकेपछि सडक डिभिजन कार्यालय इलामले त्यसको विकल्पमा सिमल गोलाई–तिल्केनी सडक खोल्ने तयारी गरेको छ । 

मेची राजमार्गको राजदुवालीस्थित माईखोलामाथिको सडकमा भित्रभित्रै जमिन नै बग्ने  समस्या निरन्तर भएपछि तत्कालका लागि गोदक सिमल गोलाई–तिल्केनी सडक खोल्ने तयारी गरिएको सडक डिभिजन प्रमुख पवन भट्टराईले बताउनुुभयो । यो मार्गलाई यसअघि पनि वैकल्पिक मार्गका रूपमा तयार गरिँदै आएको थियो । यही मार्गमा पर्ने जोगमाई खोलामा एक करोड ९१ लाख रुपियाँको लागतमा गत असारमा मात्र हालिएको बेलीब्रिज असोज १८ को बाढीले बगाएपछि इलाम सदरमुकाम जोड्ने वैकल्पिक सकडसमेत अवरुद्ध बनेको थियो । 

यता माईखोलामाथिको सडकको ट्र्याक खोल्ने काम भइरहे पनि तत्काल सवारीलाई प्रवेश गराउन जोखिम रहेको डिभिजन प्रमुख भट्टराईको भनाइ छ । उहाँ भन्नुहुन्छ, “अब जोगमाईमा ह्युुम पाइप राखेर सडक खोल्न आइतबारदेखि नै काम थालेका छौँ । राजदुवाली खण्डको मर्मत पनि कायम रहन्छ । तर ताप्लेजुुङसम्मको जनजीवन कष्टकर नहोस् भनेर वैकल्पिक मार्ग तयारी गर्न थालेका छौँ । यहाँबाट चाँडै सवारी पास गराउने लक्ष्य छ ।” 

सिमल गोलाई–तिल्केनी सडकमा गत आर्थिक वर्षमा सात किलोमिटर ग्राभेल, एक किलोमिटर सोलिङ, पाँच स्थानमा ह्युम पाइप र साँघुरो गोलाई चौडाको कामको ठेक्का लागेको थियो । कुल लागत तीन करोड ४६ लाख १४ हजार ३८८ रुपियाँ रहेको यो सडकमा गत आर्थिक वर्षमा १९.५५ प्रतिशत वित्तीय प्रगति रहेको डिभिजन कार्यालयले जनाएको छ । 

२०८२ वैशाख १९ गते ठेक्का सम्झौता रहेको यो सडकको २०८२ असार २० गतेभित्र काम सक्नुपर्ने थियो । पूर्वाञ्चल नेपाल सिङ्ग जेभीले ठेक्का लिएको यो सडकमा अहिलेसम्म ५० प्रतिशत मात्र काम भएको छ । अब यही सडकको मर्मत र स्तरोन्नत्ति नै तत्काल पूर्वी पहाडका लागि उत्तम विकल्प रहेको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौड्याल बताउनुुहुन्छ । शनिबार मात्र मेची राजमार्गको स्थलगत अवलोकनका व्रmममा मन्त्री कुलमान घिसिङलाई जिल्लास्थित अन्य सरोकारवालाले पनि वर्षौंदेखि करोडौँ रुपियाँ माटोमा बगेको भन्दै राजदुवाली खण्डको विकल्प खोज्न आग्रह गरेका थिए ।