• २८ असोज २०८२, मङ्गलबार

दीर्घरोगी उपल्लो मुस्ताङ आउँदा चिकित्सकको परामर्श लिन अनुरोध

blog

उपल्लो मुस्ताङमा रहेको लोमान्थाङ गाउँपालिका । तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा 
मुक्तिनाथ (मुस्ताङ), असोज २७ गते ।
दसैँतिहारको बिदामा उपल्लो मुस्ताङमा घुम्न जाने पर्यटकलाई चिसो र उचाइका कारण लेक लाग्ने समस्या देखिएपछि लोमान्थाङ गाउँपालिकाले पर्यटकलाई सचेतनामूलक अभियानसँगै निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ । दैनिकजसो ठुलो सङ्ख्यामा कलिला बालबालिकादेखि वृद्धवृद्धासम्म समुद्री सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाकामा पुग्दा शरीरमा अक्सिजनको कमी भएकालाई स्वास्थ्य चौकीमा उपचारपछि जटिल समस्या भएकालाई प्रादेशिक अस्पताल जोमसोममा पठाउने गरिएको गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले बताउनुभयो ।

अध्यक्ष गुरूङले भन्नुभयो, ‘‘यहाँ आउने पर्यटकमा लेक लाग्ने समस्या देखिन थालेको छ, उहाँहरू तल्लो मुस्ताङबाट सिधै माथिल्लो क्षेत्रमा आउने प्रमुख समस्या हो ।’’  लेक लागेर बिरामी हुने पर्यटकलाई गाउँपालिकाको स्वास्थ्य संस्थामा उपचार गरी थप उपचारका लागि एम्बुलेन्समा सदरमुकाम पठाउने गरिएको अध्यक्ष गुरूङले बताउनुभयो ।

अध्यक्ष गुरूङका अनुसार गाउँपालिकाभित्र समस्यामा परेका बिरामीलाई उद्धार तथा उपचारमा खटिने गरी स्वास्थ्यकर्मीलाई २४ घण्टा नै तयारी अवस्थामा राखिएको र उद्धारमा आवश्यक परेमा सुरक्षा निकायसँग समन्वय भइरहेको छ । लोमान्थाङ स्वास्थ्यचौकीमा हल्का टाउको दुख्नु, थकाइ र रिङ्टा लाग्नु पहिलो लक्षण हुन् भने हिँड्न गाह्रो हुने, श्वास फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने लक्षण भएका बिरामी औषधी लिन जाने बढेका छन् । 

अनुकूल मौसम, सहज सडक सञ्जालका कारण पोखरा, म्याग्दीबाट समेत मोटरसाइकलमा एकैदिन सिधै लोमान्थाङ पुग्दा लेक लाग्ने समस्या धेरै भएकाले गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरी दीर्घरोगीले चिकित्सकको परामर्शमा मात्रै उपल्लो क्षेत्रको भ्रमण गर्न, चिसोबाट जोगिने कपडाको प्रयोग, खाली पेट यात्रा नगर्न, प्रशस्तै पानी तथा शरीरलाई आवश्यक पर्ने तरलपदार्थको प्रयोग गर्न, मदिराको सेवन गरी उच्च क्षेत्रमा यात्रा नगर्न लगायत विभिन्न सन्देशमूलक सूचना प्रवाह गरिएको प्रमुख प्रशासकीय अधिकृत विकास केसीले बताउनुभयो ।

गाउँपालिकाले लोमान्थाङ र छोसेरमा बसोबास गर्ने पर्यटकका बारेमा जानकारी गराउन स्थानीय होटल व्यवसायी तथा जनप्रतिनिधिलाई समेत अनुरोध गरेको छ । पर्यटकको सिजनमा स्वास्थ्य जनशक्ति तथा उपकरणसहित आवश्यक औषधीसमेत पर्याप्त रहेको गाउँपालिकाले जनाएको छ । मुस्ताङमा थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा रहेकोमा धेरै लेक लाग्ने समस्या उपल्लो मुस्ताङमा पर्ने लोघेकर दामोदरकुण्ड र लोमान्थाङका साथै मुक्तिनाथ मन्दिर पर्ने, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा धेरै बिरामी हुन्छन् । एक सय ८६ किलोमिटर दूरीको कोरला–जोमसोम–बेनी सडकखण्ड रहेकोमा गण्डकी प्रदेशको राजधानी पोखराबाट चीनसँगको सिमानामा पर्ने कोरला नाका दुई सय ५१ किलोमिटरमा छ ।