प्रवीणकुमार शर्मा
रौतहट, असोज २७ गते । रौतहटको फतुवा विजयपुर नगरपालिकामा भएको जग्गा विवादमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फतुवा विजयपुर–२ शीतलपुर टोल बस्ने ६० वर्षीय शङ्कर साह बनियाँ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
एल एस न्युरो अस्पताल बारामा उपचारको क्रममा बनियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।
जग्गा जमिनको विषयलाई लिएर आइतबार फतुवा विजयपुर –२ शीतलपुर टोलका कपिलदेव यादव, विनोद यादव र शङ्कर साह बनियाँबिच विवाद तथा कुटपिट भएको थियो ।
कुटपिटबाट शङ्कर र मीनादेवी घाइते हुनुभएको थियो । घाइतेलाई उपचारका लागि एल एस न्युरो अस्पताल बारा पठाइएको थियो ।
कुटपिट गर्ने विनोद भन्ने हरिदेव यादव, ब्रह्मदेव यादव र सुरेश यादव फरार रहेको र उनीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।