• २७ असोज २०८२, सोमबार

आपत्कालीन सूचना प्रणाली प्रयोगविहीन

blog

बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा रहेको आपत्कालीन सूचना प्रणालीको बोर्ड । तस्बिर : बाबुराम देवकोटा

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, असोज २७ गते । यात्रुलाई वर्षा, बाढीपहिरो, दुर्घटना, अवरोध जस्ता घटनाको पूर्वसूचना दिने उद्देश्यले बिपी राजमार्गमा जडान गरिएका आपत्कालीन सूचना प्रणाली बिग्रिएर बर्सौंदेखि प्रयोगमा आउन सकेका छैनन् । यात्रा गर्नुअघि बिपी राजमार्गको अवस्था के कस्तो छ ? भनी पूर्वसूचना दिने उद्देश्यले धुलिखेल, सिन्धुलीमाढी र बर्दीबासमा जडान गरिएका इन्टरनेट जडित उक्त सूचना प्रणाली बिग्रिएर बर्सौंदेखि थन्किएका छन् । जाइकाले बिपी राजमार्ग निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने बेलामा विसं २०७२ मै राजमार्गमा उक्त प्रणाली जडान गरेको स्थानीयले बताएका छन् ।

उक्त राजमार्ग अन्तर्गत सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीस्थित नापी कार्यालयअगाडि जडान गरिएको आपत्कालीन सूचना प्रणाली बिग्रिएको बर्सौं भइसकेको स्थानीय बासिन्दा लालबहादुर थापा बताउनुहुन्छ । उहाँले भन्नुभयो, “राजमार्ग बनेर नेपाल सरकारलाई हस्तान्तरण गरेको केही वर्ष पछिसम्म उक्त प्रणालीले काम गरेको देखिन्थ्यो । अहिले त धेरै भइसक्यो, बिग्रिएको देखिन्छ ।”

पछिल्लो समयमा बिपी राजमार्ग बाढीपहिरोले अवरुद्ध भइरहेका बेला उक्त प्रणालीको आवश्यकता महसुस देखिएको उहाँको भनाइ छ । जापान सरकारको अनुदान सहयोगमा २०५२ सालदेखि झन्डै दुई दशक समय अवधिमा निर्माण भएको बिपी राजमार्गमा नेपालमै पहिलो पटक आपत्कालीन सूचना प्रणाली जडान भएको हो । 

उक्त राजमार्गमा वर्षा, पहिरो, दुर्घटना, अवरोध जस्ता आपत्कालीन घटनाबारे सवारीधनी र यात्रुलाई अग्रिम जानकारी दिने उद्देश्यले इन्टरनेट जडित उक्त प्रणाली जडान गरिएको हो । उक्त प्रणाली मर्मत गरी सञ्चालनमा आएमा धुलिखेलदेखि बर्दीबाससम्मको १६० किलोमिटर लम्बाइ बिपी राजमार्गमा वर्षा, पहिरो, दुर्घटना, अवरोध जस्ता आपत्कालीन घटनाबारे घरमै बसेर जानकारी लिन सकिने सरोकारवाला बताउँछन् । सूर्यविनायक–धुलिखेल सडक आयोजना प्रमुख विजय महतोले एक महिनाअघि आफू सडक विभागको सूचना प्रविधि शाखामा रहँदा बिपी राजमार्गमा जडान भएका ती आपत्कालीन सूचना प्रणाली सञ्चालनमा ल्याउन धेरै काम अघि बढेको बताउनुभयो । “म यहाँ सरुवा भएर आएको एक महिना भयो,” उहाँले भन्नुभयो, “म एक महिनाअघिसम्म विभागको सूचना प्रविधि शाखामा थिए । मैलै उक्त प्रणालीलाई सञ्चालनमा ल्याउन टिप्पणी उठाउनेदेखिको काम गरेर धेरै प्रयास गरेको थिएँ ।”

उहाँका अनुसार उक्त सूचना प्रणाली जाइकाले बनाएको हो । त्यसको सर्भर सडक विभागमा आउनुपर्नेमा अझै निजी परामर्शदातासँगै रहेको छ । आपत्कालीन सूचना प्रणाली अहिले पृथ्वी राजमार्गसहित चार वटा राजमार्गमा पनि जडान गरिएको छ । यो प्रविधिबाट इन्टरनेट जडित कम्प्युटर वा मोबाइलमार्फत सडकको सम्पूर्ण अवस्थाबारे घरमै बसेर जानकारी लिन सकिने सुविधा रहेको छ ।