• २७ असोज २०८२, सोमबार

‘स्क्रब टाइफस’ का बिरामीको चाप

blog

तानसेन समाचारदाता 

तानसेन, असोज २७ गते । पाल्पाका विभिन्न अस्पतालमा ‘स्क्रब टाइफस’ का बिरामी निरन्तर बढेका छन् । जिल्ला सरकारी अस्पताल पाल्पा, मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभास र रामपुर अस्पताल पाल्पामा ‘स्क्रब टाइफस’ का बिरामी बढेको अस्पतालले जनाएका छन् । साउन, भदौ र असोजमा ‘स्क्रब टाइफस’ बाट सङ्क्रमित हुने बिरामी बढेका हुन् । गत वर्ष यही अवधिमा २४५ जनामा मात्र ‘स्क्रब टाइफस’ सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पाल्पाले यस वर्ष सो सङ्ख्या बढेर हालसम्म ४३४ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण पुष्टि भइसकेको जनाएको छ । 

अत्यधिक ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्नेलगायत समस्या लिएर अस्पतालमा आएका बिरामीलाई जाँच गर्दा अधिकांशमा ‘स्क्रब  टाइफस’ सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएका छन् । लुम्बिनी मेडिकल कलेजले ज्वरो र शरीर दुखेर अस्पताल आउने बिरामीमा चेकजाँच गर्दा अधिकांशमा ‘स्क्रब टाइफस’ देखिएको जनाएको छ । अस्पतालका चिकित्सक डा. राजु शाक्यले ‘स्क्रब टाइफस’ को सङक्रमण पुष्टि भएका अधिकांश बिरामीलाई भर्ना गरेर उपचार गरिएको बताउनुभयो । उहाँले विगतको तुलनामा यस वर्ष ‘स्क्रब टाइफस’ बाट सङ्क्रमण देखिने बिरामी बढ्दै गएको बताउनुभयो । 

यस्तै मिसन अस्पताल पाल्पामा समेत ‘स्क्रब  टाइफस’ का बिरामी बढेका छन् । अहिले अस्पतालमा भर्ना भएका बिरामीमध्ये धेरै जसो ‘स्क्रब  टाइफस’ बाट सङ्क्रमित भएको अस्पतालले जनाएको छ । मिसन अस्पतालले बालबालिका र ज्येष्ठ नागरिक ‘स्क्रब टाइफस’ बाट सबैभन्दा बढी प्रभावित भएको जनाएको छ । अस्पतालमा पाल्पासहित गुल्मी, स्याङ्जा र अर्घाखाँचीका बिरामीमा समेत ‘स्क्रब टाइफस’ देखिएको छ । यस वर्ष पाल्पामा एक जना बालिकाको ‘स्क्रब टाइफस’ का कारण मृत्यु भएको थियो । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधुसुधन भट्टराईले जिल्लाको रैनादेवी छहरा–१ की १२ वर्षकी बालिकाको ‘स्क्रब टाइफस’ का कारण मृत्यु भएको जानकारी दिनुभयो । 

डेङ्गुका बिरामी कम 

यसैबिच यहाँका अस्पतालमा डेङ्गु सङ्क्रमित बिरामी पनि बढेका छन् । यस वर्ष हालसम्म जिल्लाभित्रका ३९४ जनामा डेङ्गु पुष्टि भइसकेको छ । गत वर्ष यही अवधिमा पाल्पामा ४६२ जनामा डेङ्गु सङ्क्रमण भइसकेको थियो । स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुकप्रसाद पोखरेलले गत वर्षको तुलनामा यस वर्ष केही कममा डेङ्गु सङ्क्रमण भएको बताउनुभयो । उहाँले पछिल्लो समय चार महिनाको अवधिमा पाल्पामा डेङ्गु र ‘स्क्रब टाइफस’ का बिरामी बढी देखिएको जानकारी दिनुभयो ।