रामकृष्ण बोहरा
बागलुङ, असोज २७ गते । दक्षिण बागलुङको जैमिनी नगरपालिकामा सञ्चालित तीनदिने निःशुल्क आँखा तथा महिला स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीले सेवा लिएका छन् ।
जैमिनी नगरपालिका र रोटरी क्लब अफ पोखरा फिस्टेलको आयोजनामा सञ्चालित शिविरमा एक हजार एक सय ३६ जना आँखाका बिरामी र दुई सय ३९ जना महिला स्वास्थ्यसम्बन्धी बिरामीले सेवा लिएका हुन् ।
कुश्मीशेरा बजारमा सञ्चालित निःशुल्क शल्यक्रिया शिविरमा आँखाका एक हजार एक सय ३६ बिरामीमध्ये ५८ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्यले जानकारी दिनुभयो ।
हिमालयन आँखा अस्पतालका चिकित्सक हरिविक्रम अधिकारी नेतृत्वको नेत्र विशेषज्ञ तथा प्राविधिकहरुको सहभागितामा जाँच तथा शल्याक्रिया भएको थियो ।
शिविरमा वरिष्ठ गाईनोलोजिस्ट केशव भुर्तेल नेतृत्वको टोलीले महिला स्वास्थ्यसम्बन्धी जाँच गर्नुभएको थियो भने रेडियोलोजिस्ट कालु शर्मा नेतृत्वको टोलीले भिडियो एक्सरे सेवा प्रदान गरेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो ।
नगरपालिकाले विभिन्न सामाजिक संस्थाहरुसँग सहकार्य गरेर हरेक वर्ष स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । तीन दिनसम्म चलेको शिविरमा १२ जना चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको थियो । शिविरमा सहभागि सबैको निःशुल्क स्वास्थ्य तथा आँखा जाँच र उपचार गरिएको थियो ।