कृष्णराज खनाल
नर्थ क्यारोलाइना (अमेरिका), असोज २७ गते । शनिबार साँझ यहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मरण गरिएको छ । नर्थ क्यारोलाइना नेपाली साहित्य समाजले शनिवार महाकवि देवकोटा जयन्तीको अवसर पारेर आयोजना गरेको लक्ष्मीजयन्ती तथा अभिनन्दन समारोहमा नेपाली साहित्यका नक्षत्र देवकोटाको योगदानको चर्चा गरिएको थियो । सो अवसरमा साहित्यकार निलम कार्की निहारिका र कवि मधु माधुर्यले देवकोटाले नेपाली साहित्यमा पुर्याउनुभएको योगदान अतुलनीय रहेको जनाउनुभएको थियो ।
कार्यक्रममा देवकोटाको कविता पनि वाचन गरिएको थियो । नेपालको राष्ट्रिय धूनसहित देवकोटाको तस्बिरमा माल्र्यापण गरी सुरु भएको कार्यक्रमका प्रमुख अतिथि पूर्व शिक्षा मन्त्री शिशिर खनालले प्रवासमा रहेर पनि नेपाली भाषा र साहित्यप्रति चासो राखेर यस किसिमको कार्यक्रम आयोजना गर्नु खुसीको कुरा हो भन्नुभयो । उहाँले नेपालमा पनि शैक्षिक गुणस्तरको प्रचूर संभावना रहेको छ भन्दै नेपालको राजनीतिलाई सही बाटोमा ल्याउन सबैको सहयोगको आवश्यकता छ भन्नुभयो ।
त्यस अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का संस्थापक अध्यक्ष साहित्यकार होमनाथ सुवेदीको शोक महाकाव्य नन्दिनीको युट्युवमा सुनाएर विमोचन पनि गरिएको थियो । साहित्यकार सुवेदीलाई त्यस अवसरमा सम्मानपत्र पनि प्रदान गरिएको थियो । उक्त काव्यको कार्यक्रमका विशेष अतिथि नारायण अधिकारीले समालोचना पनि गर्नुभएको थियो । सो अवसरमा सुवेदीले नर्थ क्यारोलाइनामा नेपाली साहित्यिक गतिविधि भइरहेकोमा खुसी पनि व्यक्त गर्नुभयो । यस अघि अनेसासका सल्लाहकार ईश्वर देवकोटाले सुवेदीको जीवनी र योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।
त्यस अवसरमा स्थानीय सर्जकहरु नम्रता गुरागाईँ, डा. भाष्कर कुँवर, गीता बस्नेत, डा. मधु माधुर्य र मोनिका चौलागाईले कविता वाचन गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष शिखर दुलालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाका अध्यक्ष विकास शाक्यले स्वागत मन्तव्य दिनुभएको थियो भने शिशिर पौडेल र विरोध तिमिल्सेनाले गीत गाउनुभएको थियो ।