नवीनराज कुइँकेल
लमजुङ, असोज २७ गते । अरिङ्गालले चिल्दा लमजुङमा एक जनाको मृत्यु भएको छ । बेंसीसहर नगरपालिका वडा नम्बर ११ तिवारी डाँडा निवासी ८२ वर्षीय यज्ञनिधि तिवारीको अरिङ्गालले चिल्दा मृत्यु भएको हो ।
आइतबार साँझपख घर नजिकै बाटोमा हिँड्दै गर्दा तिवारीलाई धेरै सङ्ख्यामा अरिङ्गालले चिलेका थिए । धेरै वटा अरिङ्गालले एकैसाथ शरीरका विभिन्न अङ्गमा चिल्दा गम्भीर घाइते हुनुभएका उहाँलाई तत्कालै उपचारका लागि सदरमुकाम बेंसीसहरस्थित प्रदेश अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी राजकिशोर शाह तेलीले जानकारी दिनुभयो ।
बेंसीसहरमा उपचार हुन नसकेपछि उहाँलाई थप उपचारका लागि चितवन पुरानो मेडिकल कलेज पुर्याइएको थियो । चितवन पुरानो मेडिकल कलेजमा उपचारको क्रममा तिवारीको निधन भएको वडाअध्यक्ष शिवप्रसाद जोशीले बताउनुभयो ।
बाटो नजिकै रहेको गोलमा कसैले ढुङ्गा हानेर जिस्काउँदा अरिङ्गालले आक्रमण गरेको हुनसक्ने स्थानीयले बताएका छन् । अरिङ्गाल व्यवस्थापन गर्न नसके थप जोखिम निम्तन सक्ने भन्दै स्थानीयमा सन्त्रास बढेको छ ।