चितवन, असोज २७ गते । तिहार नजिकिँदै गर्दा सयपत्री फूलको माग बढ्न थालेको छ । विस्तारै माग बढ्दै जाँदा व्यावसायिक रुपमा फूलखेती गर्ने किसानहरुमा उत्साहा थपिँदै गएको छ । गोरखाबाट चितवन आएर बिगत पाँच वर्षदेखि व्क सयपत्री फूलखेती गर्दै आउनुभएका बुधबहादुर गुरुङ अहिले यो पेसाबाट सन्तुष्ट हुनुहुन्छ ।
भरतपुर महानगरपालिका–८ गौरीगञ्जमा विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा यो सयपत्री उत्पादन र बजारीकरण गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो “मैले पुष्प व्यवसाय गरेको १० वर्ष भयो । अहिले सयपत्री खेती गरेको पाँच वर्ष भयो । राम्रो आम्दानी दिने गरेको छु ।” गौरीगञ्जमा १८ कठ्ठा र वरपर गरी एक बिघा भन्दाबढी क्षेत्रफलमा उहाँले सयपत्री फूलखेती गर्नुभएको छ । सुरुवाती वर्षमा राम्रो आम्दानी लिन नसके पनि अहिले सयपत्री फूलबाट आँफू सन्तुष्ट रहेको उहाँले बताउनुभयो ।
जग्गा भाडामा लिएर व्यावसायिक रुपमा फूलखेती गर्दा सयपत्रीबाट मात्रै मनग्य आम्दानी हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो “हरेक सिजनमा रु चार देखि पाँच लाख सम्मको आम्दानी सयपत्री फूल बेचेर गरेको छु ।” यो मौसम फूलको राम्रो व्यापार हुने सिजन हो । अन्य समयमा यही बारीमा तिल, मकै जस्ता खेती गर्दै आएको उहाँले सुनाउनुभयो । यही व्यवसायबाट परिवार चलाउने गरेको उहाँले बताउनुभयो । पूर्खादेखि फूलखेती गर्दै आएकाले आँफूले पनि भरतपुर महानगरपालिका–७ कृष्णपुरमा नर्सरी सञ्चालन गरेर काम गर्दै आएको सुनाउँदै उहाँले अहिले परिवारका सदस्यबाटै काम गर्दै आएको बताउनुभयो ।
जिल्लामा अहिले एक सय भन्दाबढी किसानले व्यावसायिक रुपमा सयपत्री फूलखेती गरेका छन् । उनीहरुले जिल्लाको १७ हेक्टर क्षेत्रफलमा फूलखेती गरेको कृषि विकास कार्यालय चितवनकी बागबानी विकास अधिकृत स्वस्तीका चौहानले जानकारी दिनुभयो । उहाँका अनुसार विगत तीन वर्षमा सयपत्रीखेती गर्ने किसान र क्षेत्रफल दुवै घटेको छ । आर्थिक वर्ष २०८०÷८१ मा २२ हेक्टर क्षेत्रफलमा फूलखेती गरिएकोमा क्रमशः २० हेक्टर हुँदै १७ हेक्टरमा झरेको हो ।
उहाँले भन्नुभयो “गतवर्ष फूलखेती गर्ने किसानले लगाएको बिरुवामा कुकुर फूल भएका कारण उत्पादन भएन र किसानको सङ्ख्या घटेको हो ।” फ्लोरिकल्चर एसोसिएसन चितवनका सचिव सुलभ श्रेष्ठले यसवर्ष बाहिरी जिल्लामासमेत माला पठाउने गरी फूलखेती गरिएकोमा पानीका कारण समस्या भएको बताउनुभयो ।
उहाँका अनुसार विगत तीन दिन परेको पानीका कारण १० बिघा क्षेत्रफलमा लगाइएको सयपत्री फूलको बिरुवा मरेको छ । उहाँले भन्नुभयो “क्षेत्रफल बढाएका थियाँै तर पानीले सोचे जस्तो भएन ।” जिल्लाका लागि आवश्यक माला पुग्ने भए पनि बाहिरी जिल्ला पठाउने माला नहुने भएको उहाँले बताउनुभयो । जिल्लामा मात्रै तिहारमा तीन लाख बढी माला बिक्री हुने उहाँले बताउनुभयो । तिहारका लागि आवश्यक माला बाहिरबबाट खरिद गर्नुनपर्ने उहाँको भनाइ छ । रासस