• २७ असोज २०८२, सोमबार

खुला आवागमनले राउटे समुदाय असुरक्षित

blog

सुर्खेत समाचारदाता

सुर्खेत, असोज २७ गते । सुर्खेतको लेकबेँसी नगरपालिका–९ को चौरासेको राउटे बस्तीमा मदिरा सेवन गरी होहल्ला गर्ने एक युवकलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको छ । प्रहरीले ती युवकमाथि अनुसन्धान गरिरहेको छ । शुक्रबार राति राउटे समुदायको बस्तीमा मदिरा सेवन गरी एक युवक प्रवेश गरेका थिए । बस्तीमा होहल्ला गरेपछि राउटे समुदायका युवाले ती युवकलाई नियन्त्रणमा लिएर शनिबार बिहान प्रहरीको जिम्मा लगाएका थिए । 

यो एउटा प्रतिनिधि घटना मात्र हो । राउटे समुदाय बस्तीनजिकै अन्य समुदायको बस्ती पनि बस्न थालेपछि उनीहरूको सुरक्षामा चुनौती थपिएको छ । अन्य समुदायका मानिस विभिन्न बहानामा राउटे बस्तीमा प्रवेश गर्न थालेपछि असुरक्षा बढ्न थालेको राउटे समुदायका व्यक्ति नै बताउँछन् । राउटे समुदायका युवक दीपक शाहीले नयाँ नयाँ मानिस राउटे समुदायको बस्तीभित्र आउन थाल्दा आफूहरूलाई समस्या पर्ने गरेको बताउनुहुन्छ । उहाँले अन्य मानिस प्रवेश गर्दा अब सुरक्षाको आवश्यकता पर्न थालेको उल्लेख गर्नुभयो । राउटे महिला, बालबालिका नयाँ मानिसबाट थप त्रसित हुन थालेको उहाँको भनाइ छ । 

राउटे समुदायको रेखदेखमा रहनुभएका शिक्षक दुर्गा खत्रीले आफूले बारम्बार राउटे समुदाय असुरक्षित बन्दै गएको बताउनुभयो । उहाँले राउटे बस्तीनजिकै अन्य समुदायको बस्ती बस्न थालेपछि सुरक्षा चुनौती थपिएकाले प्रहरी खटाउन आवश्यक रहेको बताउनुभयो । पछिल्लो समय राउटे समुदायमाथि टिकटक बनाउने, भिडियो खिच्ने चलन बढेको हुँदा राउटेको गोपनीयता पनि सार्वजनिक हुन थालेको र त्यसले असुरक्षा बढ्न थालेको उहाँले बताउनुभयो । 

यसैबिच दसैँमा भत्ता नपाएका राउटेले अहिले भत्ता पाएका छन् । दैलेखको गुराँस गाउँपालिकाको स्थायी बासिन्दा भएका कारण उनीहरूलाई गाउँपालिकाले राउटे बस्दै आएको सुर्खेतको लेकबेँसी नगरपालिकाको चौरासेमा पुगेर भत्ता वितरण गरेको हो । भत्ता पाएपछि हात हातमा नगद बुझेका राउटेहरू मदिराको लतमा फसेका छन् । पछिल्लो समय राउटेलाई नगदको सट्टा चामल तथा जिन्सी सामान उपलब्ध गराउनुपर्ने आवाज उठेको छ । मदिराको लतका कारण उनीहरूमा सुरक्षा चुनौती बढेको बताइएको छ ।