नौरते नेपाली
सिँजा (जुम्ला), असोज २७ गते । जुम्लामा एयरलाइन्सका प्रतिनिनिधहरूले हवाई टिकट वितरणमा मनपरी गर्ने गरेको पाइएको छ । एयरलाइन्सका कर्मचारीले टिकट वितरण आफू निकटहरुलाई वितरण गर्दै आएको पाइएको हो ।
टिकट वितरणमा पारदर्शिता नभएको भन्दै नागरिकहरूले गुनासो गर्दै आएका छन् । आफू निकटका व्यक्तिलाई टिकट दिँदा सर्वसाधारण नागरिकले पाउने अवस्था नभएको स्थानीयहरुको अरोप छ ।
हवाई टिकट सर्वसाधारणले सहजै नपाउने र पहुँच भएका व्यक्तिले सजिलै पाउने गरेका छन् । एयरलाइन्सका कर्मचारीले फोनबाटै टिकट वितरण गर्दै मनोमानी गरेको भन्दै यात्रुहरू आक्रोशित बनेका छन् ।
हवाई टिकट वितरण प्रणाली अस्वस्थ बनेको छ । एयरलाइन्सका कर्मचारीहरूले खल्तीबाट टिकट वितरण गर्दै आएको स्थानीयले बताएका छन् । जसका कारण सर्वसाधारणले सहज रूपमा टिकट पाउने अवस्था छैन । चिनजान भएका, पहुँच भएका र निजि एयरलाइन्सका कर्मचारीका फोन नम्बर भएकाहरूले मात्र टिकट पाउने गरेका छन् ।
आम नागरिकलाई भने टिकट पाउन निकै समस्या हुने गरेको छ । टिकट पाउन ठुला मान्छे वा दलाल मार्फत मात्रै उपलब्ध हुने गरेको गुनासो गरेका छन् । विगतदेखि जुम्लामा सञ्चालनमा रहेका निजि एयरलाइन्स कम्पनीहरूले आफ्नो सञ्जालका आधारमा टिकट वितरण गर्दै आएका छन् ।
सैद्धान्तिक रूपमा खुला प्रणालीमा टिकट उपलब्ध हुने भनिए पनि, व्यवहारमा भने एयरलाइन्सका केही कर्मचारीको खल्तीबाट टिकट वितरण गर्दै आएका छन् । एयरलाइन्सका कार्यालयहरु भए पनि बन्द हुने गरेका छन् । ‘‘टिकट छैन भन्छन्, तर चिनेको मान्छेलाई पाँच मिनेटमै दिन्छन्’’ स्थानीय व्यवसायी गणेश महतले भन्नुभयो ।
एयरलाइन्सका कर्मचारीसँग व्यक्तिगत सम्बन्ध भएका वा ठुला व्यक्तिहरूको सिफारिस बोकेकाले सहजै टिकट पाउने गरेको उहाँको भनाइ छ । ‘‘सर्वसाधारण यात्रुहरूलाई पूरा बुक भइसक्यो भनेर फर्काइन्छ ।’’ उहाँले भन्नुभयो ।
स्थानीय प्रशासन, नागरिक समाज र जनप्रतिनिधिहरूले टिकट वितरण प्रणाली सुधार्न पटक–पटक छलफल गरे । तर प्रत्येक छलफलको परिणाम शून्य देखिएको छ ।’’
टिकट वितरण प्रणालीमा सुधार ल्याउनका लागि जिल्ला प्रशासन कार्यालय जुम्लामा धेरैपटक छलफलहरू भएका छन् । स्थानीय प्रशासन, नागरिक समाज र जनप्रतिनिधिहरूले पनि पारदर्शी प्रणालीको माग गर्दै प्रस्तावहरू अघि सारेका थिए । तर ती सबै छलफलहरू कागजमै सीमित भएका छन् । जुम्लाको आकाशमा जहाजहरू उडिरहेका छन् ।
यता जुम्लाका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले टिकट वितरणलाई पारदर्शी गर्न खोजिएको बताउनुभयो । एयरलाइन्सका प्रतिनिधिहरुसँग छलफल भएको उहाँको भनाइ छ । टिकट वितरण प्रणाली पारदर्शी नभएको खण्डमा नेपाल नागरिक उड्डयन प्राधिरणलाई पत्र लेखि पठाउन बाध्य हुने उहाँको भनाइ छ ।
यता सिता एयरका प्रतिनिधि टंक आचार्यले फोनबाटै टिकट वितरण हुने गरेको बताउनुभयो । कार्यालय टिकट लिन नआउने भएकाले फोनबाटै टिकट वितरण हुन्छ । एयरपोर्टमा कार्यालय भए पनि बन्द हुने गरेको उहाँको भनाइ छ । हप्तामा एक दुई दिन मात्रै उडान हुने गरेको उहाँको भनाइ छ । सर्वधारण नागरिकले टिकट पाउने गरेको आचार्यको जानकारी गराउनुभयो ।
हाल जुम्लामा तारा, सिता, समिट र नेपाल वायुसेवा निगमका जहाजले उडान भर्दै आएका छन् । टिकट वितरण प्रणाली पारदर्शी नहुँदा हवाई सेवामा सर्वसाधारणले सास्ती भोग्नु परेको छ ।