• २७ असोज २०८२, सोमबार

विपिनको व्यग्र प्रतीक्षा

blog

राधा चालिसे/अविनाश चौधरी 

काठमाडौँ/धनगढी, असोज २७ गते ।  विगत दुई वर्षदेखि चल्दै आएको इजरायल र हमासबिच अन्ततः युद्धविराम भएको छ । अमेरिकी सरकारको विशेष पहलमा भएको युद्धरत पक्षबिचको वार्ता सफल भएसँगै शुक्रबारदेखि युद्धविराम हुँदा मध्यपूर्वलगायत विश्वभर खुसी सञ्चार भएको छ । नेपालका लागि यो युद्धविरामले निकै ठुलो राहत र आशा जगाएको छ । सदैव शान्तिको पक्षमा उभिँदै आएको नेपालका लागि इजरायल र हमासबिचको युद्धले कहिल्यै बिर्सन नसक्ने चोट त लगाइदिएको छ । यद्यपि हमासले  २० जना बन्धकलाई सोमबार रिहाइ गर्न तयारी गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् र रिहाइ हुने बन्धकको सूचीमा विपिन जोशीको पनि नाम समावेश भएको समाचारले परिवाजनलगायत आमनेपालीमा खुसीको सञ्चार भएको छ ।

विपिन जोशीलगायतका इजरायली परिवार व्यग्रतासाथ आफ्ना परिवारका सदस्य फर्कने त्यो क्षणको प्रतीक्षामा छन् । इजरायल र हमासबिच युद्ध सुरु हुनुअघि नै १० जना नेपाली युवाले ज्यान गुमाउन पुगे भने हमासले बन्धक बनाएर लगेका बैतडीका विपिनको अवस्था अझै अज्ञात छ । 

हमासको बन्धकमा रहेका जोशीको अवस्था दुई वर्षसम्म अज्ञात रहेपछि गत अगस्टमा उहाँका आमा र बहिनी पुष्पा जोशीले इजरायलमा नै पुगेर त्यहाँका उच्चपदस्थ अधिकारीसँग विपिनको रिहाइका लागि पहल गर्न अनुरोध गर्नुभयो । उहाँहरूले इजरायलका विभिन्न मञ्चमा पुगेर आफ्नो पीडा पोख्नुभयो । उहाँसँगै बन्धकमा रहेका अन्य इजरायलीका परिवारसँगै उभिएर तेलअभिभस्थित होस्टेज स्क्वायरमा पुगेर उहाँहरूले जोशीको रिहाइका लागि अपिल गरिरहँदा इजरायली जनताले पनि निकै आत्मीयतासाथ साथ दिएका थिए । करिब सात सय दिनपछि युद्धविराम हुँदा वार्ताको पूर्वसर्तका रूपमा रहेका नेपाली विपिन जोशीलगायत ४८ जना बन्धकलाई निःसर्त छोड्नुपर्ने अडान इजरायलले राख्दै आएको छ । 

 विपिन हमासको अपहरणमा परेपछि उहाँ फर्किने आसमा परिवारले दुई वर्ष बिताइसकेको छ । भाइ फर्केमा यसपालिको तिहारको सबैभन्दा ठुलो उपहार त्यही हुने विपिनका दाइ (ठुलोबुवाका छोरा) किशोर जोशीले बताउनुभयो । उहाँले भन्नुभयो,“भाइ सकुशल फर्केर आओस्, भगवान्सँग यही प्रार्थना छ ।”