अविनाश चौधरी
धनगढी, असोज २६ गते । उत्तरी ध्रुवबाट दक्षिण झरेका प्रवासी चरा कर्याङकुरुङ सारस (डेमोइसेल्ला क्रेन) कैलालीमा रमाउन थालेका छन् ।
हजारौं किलोमिटर उडान भरेर थकित यो चरा आहारविहार र विश्रामका लागि कैलाली टेकेका हुन । विगत वर्षझै यो वर्ष पनि कर्याङकुरुङ यो बेला भारततर्फ बसाइँ सरिरहेका छन् । त्यसक्रममा कैलालीको कैैलारी गाउँपालिका –३ निमुवाबोझी र भजनी नगरपालिकाको खैलाड क्षेत्रमा आहारविहारका लागि बसेका छन् ।
निमुवाबोझीमा एक बथान कर्याङकुरुङ केही दिनदेखि बस्दैआएको वाइल्डलाइफ फोटोग्राफर कुलराज चौधरीले बताउनुभयो । उहाँले थोरै संख्यामा रहेको कर्याङकुरुङको बथान मोहना नदीको बगर, स्थानीयको खेतमा आहारविहार गर्दै रमाइरहेको जानकारी दिनुभयो ।
यसैगरी, बथानबाट छुटेका ६ वटा कर्याङकुरुङ भजनीको खैलाडस्थित धान खेतमा बसेको जनाइएको छ । त्यसमध्ये चारवटा उडेका र उड्न नसकेका दुई वटालाई स्थानीयले पक्रेर सुरक्षित राखेको चराविद हिरुलाल डङ्गौराले जानकारी दिनुभयो ।
माथिल्लो मुस्ताङस्थित समर–धौलागिरी हिमालको पश्चिम र डोल्पा गरेर दुईवटा रुटबाट यो प्रजातिका चरा नेपालमा प्रवेश गर्ने गरेको जनाइएको छ । माथिल्लो मुस्ताङहुँदै आएका कर्याङकुरुङ सारस भेरी नदी कोरिडोर र डोल्पा रुट हुँदैआएका कर्याङकुरुङ सारस कर्णाली कोरिडोर भएर भारततर्फ जानेगरेका छन् ।
असोज, कात्तिक दुई महिनासम्म बसाइँ सरेर यो चरा भारतको गुजरात र राजस्थानमा जाने गरेको जनाइएको छ । यहाँ बसेर रमाइरहेका कर्याङकुरुङको चोरी शिकार हुन नदिन वन कार्यालय अग्रसर हुनुपर्ने चराप्रेमीहरुको भनाइ छ । सवडिभिजन वन कार्यालय भजनीका वन अधिकृत लालबहादुर विकले कर्याङकुरुङको बारेमा जानकारी लिन कर्मचारी खटाइने बताउनुभयो ।