• ८ वैशाख २०८१, शनिबार

वर्षातले यातायात आवागमन ठप्प

blog

लुुम्बिनी ब्युरो

लुम्बिनी, असार १७ गते  । अन्य समयमा नियमित रूपमा यातायात सेवा सञ्चालन हुने पहाडी जिल्लाको दुर्गम गाउँबस्ती र सदरमुकामलगायत सहरी क्षेत्रबीचको सम्बन्ध वर्षाका कारण अवरुद्ध भएको छ । वर्षात् सुुरु हुनासाथ सडक बाढीपहिरोले बगाउने र कच्ची सडकमा हिलो जम्ने भएकाले यातायात सेवा नियमित सञ्चालन नहुँदा यस्तो समस्या आएको हो । 

लुम्बिनी प्रदेशका प्रायः पहाडी जिल्लाका ग्रामीण क्षेत्र जोड्ने सडकहरू अवरुद्ध हुने गरेका छन् । जसका कारण अशक्त, बिरामी र सेवाग्राहीलाई सदरमुकाम तथा सहरी क्षेत्रमा आउन समस्या हुने गरेको छ ।  त्यस्तै उपचारका लागि एम्बुुलेन्स सञ्चालन, बाढीपहिरो प्रभावितको उद्धार तथा राहत पुु-याउनमा पनि कठिनाइ हुने गरेको छ ।  

वर्षायाम सुरु भएसँगै रुकुम पूर्वका ग्रामीण सडकहरू अवरुद्ध भएका छन् । ट्रयाक खोलिएका कच्ची सडक पहिरो र बाढीले बगाइदिएको छ । नदी तथा खोलाका कारण सडक यातायात अवरुद्ध भएका छन् ।  पुथा उत्तरगङ्गा गाउँपालिकाको वडा नम्बर १० र ११ मा पर्ने उत्तरगङ्गा नदीमा पानीको बहाव बढेर जिल्ला सदरमुकाम रुकुमकोट र पालिकाको केन्द्रमा आउने यातायात सेवाका साधन ठप्प भएका छन् । नदीमा पुल नहुँदा ११ नम्बर सेरामा रहेका सवारीसाधनबीच सढकमै अलपत्र अवस्थामा रहेको गाउँपालिकाका सब ओभरसियर नवीन दाहालले बताउनुभयो । 

नदीको बहावका कारण वडा नम्बर १, २, ३, ४, ५, ६ र ९ का सर्वसाधारण गाउँपालिकाको केन्द्रसम्म जानबाट वञ्चित भएका छन् ।  वर्षाका कारण निर्माणाधीन अवस्थामा रहेको शहीद मार्गको रुकुम पूर्व खण्ड नियमित सञ्चालन हुनसकेको छैन । भुमे र पुथा उत्तरगङ्गा गाउँपालिकाको सिमानामा पर्ने रिका लेकमा पहिरो झरिरहने भएकाले सवारी सञ्चालनमा कठिनाइ हुने गरेको छ ।

जसका कारण काँक्रीबाट तकहुँदै हुकाम जाने यात्रु मर्कामा परेका छन् । सोही सडक हुँदै पुथा उत्तरगङ्गाबाट जिल्ला सदरमुकाम रुकुमकोट आउने सर्वसाधारणले पनि सास्ती पाउने गरेका छन् ।  सिस्ने गाउँपालिका–२ का पूर्व वडाअध्यक्ष जीवन केसी धेरैजसो ठाउँमा रहेका कच्ची सडकहरू वर्षायाममा बन्द अवस्थामा रहेको बताउनुहुन्छ । 

रुकुम पश्चिमको मुसीकोटदेखि रुकुम पूर्वको सदरमुकाम बीचको धाउनेमा लगातार पहिरो जाने गरेकाले बाटो बन्द भएको उहाँले बताउनुुभयो । 

त्यसैगरी क्युवाङ राङ्सी जामाबगर र नाखामा खोलिएको ग्रामीण सडक पनि वर्षाका कारण अवरुद्ध भएको छ । पाल्पा सदरमुकाम तानसेनदेखि स्थानीय तहको केन्द्रसम्म जोड्ने सडकहरू वर्षात्का कारण बन्द हुने गरेका छन् ।  

सङ्घीय र प्रदेश सरकारले सडक स्तरोन्नति गर्न प्राथमिकताका साथ बजेट विनियोजन गरे पनि पाल्पाका सबै स्थानीय तहसम्म पुग्ने सडक गतिलो बन्न सकेको छैन । रैनादेवी छहरा, तिनाउ र रिब्दीकोट गाउँपालिकाको केन्द्रसम्म पुग्ने सडक पक्की बनेको छ । बाँकी सातवटा पालिकाको केन्द्रसम्म पुग्ने सडक पक्की बन्न सकेको छैन । 

सदरमुकाम तानसेनदेखि रामपुर नगरपालिकासम्म पुग्नका लागि प्रयोग हुने कालीगण्डकी कोरिडोरको ६५ किलोमिटर सडक पक्की बनाउने काम भइरहेको छ । यो सडक निर्माणले रामपुरसम्म पुग्न सहज हुनेछ । यस्तै सदरमुकाम तानसेनदेखि ७५ किलोमिटर पूर्वमा रहेको निस्दी गाउँपालिकासम्म पुग्न १० किलोमिटर सडक पक्की बनाउन बाँकी रहेको छ । पूर्वखोला गाउँपालिकासम्म पुग्नका लागिसमेत रामपुर आर्यभञ्ज्याङ सडक प्रयोग भए पनि १३ किलोमिटर शाखा सडक बन्न सकेको छैन । 

पालिकाको केन्द्रसम्म पुग्नका लागि प्रदेश सरकारले १८ करोडभन्दा बढी लगानी गरी सडक पक्की बनाउन टेण्डर गरेको पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिनुभयो । माथागढी गाउँपालिका पुग्न बाँसटारी झडेवा सडक प्रयोग हुने गरेको छ । यो सडक बाँसटारीदेखि देवगिरसम्म पक्की भए पनि पालिकाको केन्द्र झडेवासम्म पुग्न सात किलोमिटर सडक कच्ची छ । 

सडक पक्की नहुँदा वर्षात्को समयमा पालिकासम्म पुग्न अप्ठेरो हुने गरेको माथागढी–४, झडेवाका स्थानीय बासिन्दा चन्द्रदेव पन्थीले बताउनुभयो । रम्भा गाउँपालिकाको केन्द्र खोकखोलासम्म पुग्ने डेढ किलोमिटर सडक समेत कच्ची रहेको छ । अर्घाखाँचीका ग्रामीण भेगका सडक पनि अवरुद्ध भएका छन् । टोलटोलमा पुगेका सडक वर्षायामसँगै अवरुद्ध भएका हुन् । जिल्ला मुख्य सडक सन्धिखर्क–गोरुसिङ्गे सडकसमेत पहिरोका कारण बेलाबेला अवरुद्ध हुने गरेको छ । 

यस्तै सन्धिखर्क–तम्घास, सन्धिखर्क–प्युठान सडकको अवस्था झनै जटिल बन्दै गएको छ । सडकको अवस्था कमजोर भएका कारण बस तथा कार सञ्चालनमा आउन नसकेको पश्चिम नेपाल बस व्यवसायी प्रालिका अर्घाखाँची प्रमुख कमल भट्टराईले जानकारी दिनुभयो । 

(रेखीराम राना/पाल्पा, राजुु लामिछाने/रुकुम पूूर्व, गणेश खनाल/अर्घाखाँची)