• २६ असोज २०८२, आइतबार

टी–२० विश्वकप छनोट : युएईलाई नेपालले दियो १४१ रनको लक्ष्य

blog

रन बटुल्दै नेपालका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, असोज २६ गते । आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा सुपर सिक्सको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई एक सय ४१ रनको लक्ष्य दिएको छ । 

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ४० रन बनायो । 

नेपालका लागि आशिफ शेखले ५१ रनको अर्धसतकीय इनिङ्स खेल्नुभयो । उहाँले ४७ बलमा चार चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

यस्तै कुशल भुर्तेलले २८, कप्तान रोहितकुमार पौडेलले २०, गुल्शन झाले १४ र कुशल मल्लले १० रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बटुल्न सकेनन् ।

बलिङमा युएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले एक एक विकेट लिनुभयो । नेपालले समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्समा पुगेको हो ।

नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो । यस्तै युएईले समूह ‘ए’ को विजेताका रूपमा सुपर सिक्समा स्थान बनाएको हो । समूह चरणमा युएईले कतार र मलेसियालाई हराएको थियो ।

दुवै टोलीले लिग चरणमा दुई अङ्क लिएर आएकोले हराउनेलाई विश्वकप यात्रा तय गर्न थप सहज बन्ने छ । नेपाल अघिल्लो विश्वकपमा युएईलाई हराएर पुगेको थियो । 

यस्तै एसिया कपको छनोटमा भने युएईले नेपाललाई हराएर स्थान बनाएको थियो । यी दुई टोलीबिच यसअघि १० खेल भएका छन् । जसमा दुवै टोलीले समान पाँच पाँच खेल जितेका छन् ।