• २६ असोज २०८२, आइतबार

‘फुटबल क्यालेन्डरमा होइन मैदानमा गर’

blog

एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ (बीचमा) । फाइल तस्बिर

काठमाडौँ, असोज २६ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) पारदर्शी ढङ्गले नचलेको र फुटबलका नियमिति गतिविधि सञ्चालन नभएको भन्दै नेपाली फुटबल समर्थकले आइतबार एन्फा मुख्यालय सातदोबाटोमा प्रदर्शन गरेका छन् । 

फुटबलका युवा समर्थकले फुटबल खेलको मेरुदण्डको रूपमा रहेको ‘ए’ डिभिजन लिगसमेत गर्न नसकेको एन्फा नेतृत्वप्रति असन्तुष्टी व्यक्त गरेका हुन् ।

उनीहरुले फुटबल क्यालेन्डरमा होइन–मैदानमा चाहियो, फिफा विश्वकप चार वर्षमा आउँछ–‘ए’ डिभिजन लिग कहिल आउँछ ?, लिग चलाउ–फुटबल बचाउ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेर शान्तिपूर्ण प्रदर्शन गरेका थिए । 

तीन वर्षअघि एन्फामा पङ्कजविक्रम नेम्वाङ अध्यक्ष चुनिएर आएपछि नेपाली फुटबल कमजोर बनेको छ । फुटबलका गतिविधि अन्त्य गरेर एन्फा नेतृत्व जिल्ला र प्रदेशका प्रतिनिधिलाई विदेश भ्रमण गराउने र आगामी निर्वाचनमा फेरि आफ्नो पकड जमाउने अभियानमा लागेका छन् । 

एन्फा नेतृत्वले चासो नदिँदा नेपालको एक मात्र अन्तर्राष्ट्रिय फुटबल स्टेडयम दशरथ रङ्गशाला विश्व फुटबल महासङ्घ (फिफा) र एसियाली फुटबल महासङ्घ (एएफसी) बाट अन्तर्राष्ट्रिय खेल अ‍ेलाउन अयोग्य घोषित भएको धेरै भइसकेको छ ।

सोही कारण नेपालले अहिले एसिया कप छनोट अन्तर्गत भियतनामसँग घरेलु मैदानमा खेल्नुपर्ने (होम) खेल भियतनामकै मैदानमा खेल्नुपर्ने बाध्यता छ । भियतनामसँग पहिलो लेगमा ३–१ गोलले पराजित भएको नेपालले दोस्रो खेल मङ्गलबार उसैको मैदानमा पुन: खेल्ने छ । 

यसअघि पनि रङ्गशालाकै कारण नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल खेल्न पाएको थिएन । यस्तै मैदानमा नियमित फुटबल नहुँदा राष्ट्रिय टोलीका उत्कृष्ट खेलाडीसमेत अस्ट्रेलियालगायत देशमा पलायन भइसकेका छन् । 

फिफा र एएफसीको अनुदानसहित वार्षिक एक अर्ब ५० करोड बजेट भएको एन्फा पदाधिकारी फुटबल गतिविधिलाई पर सारेर भत्ता र विदेश भ्रमणमा रमाइरहेको प्रति फुटबल समर्थक शान्तिपूर्ण आन्दोलनमा उत्रिएका हुन् । 

यसैबिच सर्मथकको आन्दोलनका कारण एन्फाले ‘ए’ डिभिजा लिग आयोजनाका लागि क्लबहरूसँग आइतबार बोलाएको बैठकसमेत स्थगित भएको छ ।