• २६ असोज २०८२, आइतबार

जावलाखेल मैदानमा गोदावरी फूलको प्रदर्शनी हुँदै

blog

पत्रकार सम्मेलनमा सहभागी आयोजक । तस्बिरः गोरखापत्र अनलाइन

काठमाडौँ, असोज २६ गते । ललितपुरको जावलाखेल मैदानमा तिहारको अवसरमा पाँच दिन गोदावरी फूलको प्रदर्शनी हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले आइतबार पत्रकार सम्मेलन गर्दै असोज २९ गतेदेखि कात्तिक २ गतेसम्म गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुन लागेको जानकारी गराएको छ । 

२०५१ सालदेखि लगातार पुष्प मेला तथा प्रदर्शनी गर्दै आएको एसोसिएसनको यो १८ औँ प्रतियोगितात्मक प्रदर्शनी हो । यो वर्षको फूल प्रदर्शनीको नारा ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने रहेको छ । 

बृहत् गोदावरी फूल प्रदर्शनीमा ८० वटा व्यवसायिक स्टल रहने छन् । अफिसियल स्टल पाँच, प्रतियोगितात्मक र सेल्फी स्टल दुई दुई र प्लान्ट क्लिनिक एक गरेर कुल ९० वटा प्रदर्शनी कक्ष रहने छन् । 

प्रदर्शनीमा नर्सरीले उत्पादन गरेका गोदावरी फूलका पाँच प्रजातिमा प्रतिस्पर्धा गराइने छ । मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र गोदावरीको कट फ्लावर प्रजातीमा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । मेलामा सहभागी नर्सरी व्यवसायीलाई उत्कृष्ट स्टलतर्फसमेत प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई शिल्ड नगद र प्रमाणपत्र प्रदान गरिने छ । 

मेलामा ४५० बढी प्रकारका फूलका बिरुवा प्रदर्शनीमा राखिने छ । आयोजकले ४० हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने र एक करोड ३० लाख बढीको व्यवसायिक कारोबार हुने अपेक्षा गरेका छन् । 

प्रदर्शनीको उद्घाटन असोज २९ गते बुधबार बिहान ११ बजे जावलाखेल मैदानमा हुने छ । प्रदर्शनीको उद्घाटन नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्द्रप्रसाद शर्माले गर्नुहुने कार्यक्रम तय भएको छ । 

पत्रकार सम्मेलनमा एसाेसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठ, उपाध्यक्ष एवम् मेला संयोजक सुमन महर्जन, महासचिव हीरामणि शर्मालगायत कार्यसमिति सदस्य र व्यवसायीको उपस्थिति थियो ।