गोरखापत्र अनलाइन
काठमाडौं, असोज २६ गते । नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) ले हुम्ला स्थायी निवासी आदिबासी जेनजी समूहकी सदस्य टासी ल्हाजोममाथि लगाइएको आरोपप्रति आपत्ति जनाएको छ ।
महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले आज विज्ञप्ति जारी गर्दै उत्तरी हिमाली भेगमा बसोबास गर्नेलाई तिब्बतीयन देख्ने र तराई मधेसमा बसोबास गर्ने आदिबासीलाई भारतीय नागरिक देख्ने दृष्टिदोस रहेको भन्दै त्यस्तो सोचप्रति निन्दा प्रकट गर्नुभएको छ ।
उहाँले विज्ञप्तिमा लेख्नुभएको छ, “आदिबासीको आफ्नो बिशिष्टता भनेकै पृथक पहिचान हो । जसको शारीरिक बनावटदेखि बोलीचाली अनि सांस्कृतिक अभ्यास गैर आदिबासीको भन्दा फरक हुन्छ । यही विविधतालाई स्वीकार्न नसक्ने समूहले आदिबासीलाई यो वा त्यो नाममा विभेदको शिकार बनाउँदै आएको छ ।”
विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा टासीको नागरिकता तथा पहिचानबारे गरिएको आधारहीन हल्लाप्रति महासंघको ध्यानाकर्षण भएको अध्यक्ष शेर्पाले उल्लेख गर्नुभएको छ । यस्तो हर्कत्ले सामाजिक सदभाव विथोलिने भन्दै उहाँले दोसीको पहिचान गरी कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।