• २६ असोज २०८२, आइतबार

टी–२० विश्वकप छनोट : नेपाल युएईविरुद्ध टस जितेर ब्याटिङ गर्दै

blog

टस जितेपछि युएई र नेपालका कप्तान । तस्बिर : क्यान

काठमाडौँ, असोज २६ गते । आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा सुपर सिक्सको पहिलो खेलमा आज नेपालले संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दैछ ।

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीमा केही बेरमा सुरु हुने खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपालले समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्समा पुगेको हो ।

नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो । यस्तै युएईले समूह ‘ए’ को विजेताका रुपमा सुपर सिक्समा स्थान बनाएको हो । समूह चरणमा युएईले कतार र मलेसियालाई हराएको थियो ।

दुवै टोलीले लिग चरणमा दुई अङ्क लिएर आएकोले हराउनेलाई विश्वकप यात्रा तय गर्न थप सहज बन्नेछ । नेपाल अघिल्लो विश्वकपमा युएईलाई हराएर पुगेको थियो । यस्तै एसिया कपको छनोटमा भने युएईले नेपाललाई हराएर स्थान बनाएको थियो ।

चर्चित प्रतिस्पर्धीबिचको आजको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । यी दुई टोलीबिच हालसम्म १० खेल भएका छन् । जसमा दुवै टोलीले समान पाँच पाँच खेल जितेका छन् ।