विजयकुमार साह
ढल्केबर, असोज २६ गते । धनुषाको मिथिला नगरपालिकाका शिक्षक तलब भत्ता माग गर्दै आइतबारदेखि अनिश्चितकालीन धर्नामा बसेका छन् । ढल्केबरस्थित नगरपालिकाको कार्यालय परिसरमा उहाँहरू धर्नामा बसेका हुन् ।
शिक्षक आन्दोलन परिचालन समित मिथिलाका संयोजक रामप्रसाद खरेलले तलब भत्ताको रकम खातामा जम्मा नभएसम्म धर्ना कार्यक्रम जारी रहने बताउनुभयो । उहाँका अनुसार पटकपटक तलब भत्ता माग गर्दा पनि नगरपालिकाले कुनै ध्यान नदिएकाले अन्ततः बाध्य भएर धर्ना बस्नुपरेको हो ।
उहाँले भन्नुभयो, ‘दसैँ–तिहार जस्ता चाडपर्वमा पनि तलब नपाउँदा हामीहरू आर्थिक सङ्कटमा परेका छौँ । सङ्घीय सरकारले समयमै पठाएको शिक्षकको तलब रकम जनप्रतिनिधिबिचको आन्तरिक मतभेदका कारण रोकिएको हो । शिक्षकको तलब तुरुन्त निकासा गरी शैक्षिक वातावरण सहज बनाउन उहाँले आग्रह गर्नुभयो ।