• २६ असोज २०८२, आइतबार

पर्सामा हैजाको महामारीविरुद्ध प्रतिकार्य खोप अभियान सञ्चालन

blog

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले खोप खाएर हैजा महामारीविरुद्ध प्रतिकार्य खोप अभियानको शुभारम्भ गर्दै।

कन्हैयालाल केशरी 

पर्सा, असोज २६ गते। स्वास्थ्य कार्यालय पर्साले आइतबारदेखि पर्सा जिल्लाको १४ पालिकामा एकै पटक हैजा रोगको महामारीविरूद्ध प्रतिकार्य खोप अभियान सञ्चालनमा ल्याएको छ।

जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीलाई महिला स्वास्थ्यकर्मीले मुखमा हैजाको खोप खुवाएर हैजा रोगको महामारीविरुद्ध प्रतिकार्य खोप अभियानको शुभारम्भ गरिएको थियो। 

अवसरमा प्रमुख जिल्ला अधिकारी सुवेदीले केही दिन अघिसम्म पर्सा जिल्ला हैजाको महामारीमा परेकोले पर्सावासीलाई खोप खाएर लाभान्वित हुन तथा सुरक्षित रहन खोप कार्यक्रमलाई सफल पार्न आग्रह गर्नुभयो।

उहाँले पैसाले किनेर यो खोप बजारमा नपाउने भएकाले यसबाट लाभ लिन सकिने बताउनुभयो। बाल तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले खोप विश्व स्वास्थ्य सङ्गठनबाट गुणस्तरयुक्त प्रमाणित भएको खोप हो, र नेपालको नियामक निकाय औषधी व्यवस्था विभागमा दर्ता भएकोले कुनै प्रकार सङ्कोच नलिन आग्रह गर्नुभयो।

स्वास्थ्य र्कायालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले पर्सा जिल्लाको १४ पालिकामा एकै चरणमा असोज २६ गतेदेखि कार्तिक २ गतेसम्म खोप अभियान सञ्चालनमा रहने बताउनुभयो । उहाँले पर्सा जिल्लामा एक हजार ९ सय ५१ खोप केन्द्रर्माफत कार्यक्रम सञ्चालनमा आएको छ। 

वीरगन्ज महानगरपालिकामा भदौ ६ गते देखिएको झाडापखालाले हैजा महामारीको रूप लिँदै गर्दा एक हजार पाँच सय ६७ जना प्रभावित भएका थिए। जस मध्ये हाल नारायणी अस्पतालमा चार जनाको उपचार भइरहेको छ।