सिराज खान
नेपालगन्ज, असोज २६ गते । जेनजी आन्दोलनको क्रममा बाँके जिल्लाका दुई वटा बाल सुधारगृह र एउटा कारागारबाट भागेका ३४० जना कैदी बन्दीमध्ये २१७ जना अझै सम्पर्कमा आएका छैनन् ।
भागेका मध्ये हालसम्म १२३ जना मात्रै पक्राउ परेको कारागार र बाल सुधारगृहले जनाएका छन् ।
बाँकेको नौबस्ता बाल सुधारगृहका ४५ जना, नौबस्ता क्षेत्रीय कारगारका १०४ जना र जयन्दु बाल सुधारगृहका ६८ जना कैदीबन्दी अझै फरार छन् । डुडुवास्थित जयन्दु बालसुधार गृहका प्रमुख किशोर शर्माले सुधारगृहमा रहेका २२८ जना बालबन्दी मध्ये ११५ जना भागेकोमा ४७ जना पक्राउ परेको र ६८ जनाको खोजी भइरहेको बताउनुभयो।
नौबस्ता बाल सुधारगृहका प्रमुख श्यामबहादुर रानाले सुधारगृहमा रहेका १७६ जना बालबन्दीमध्ये प्रहरीसँगको झडपमा पाँच जनाको मृत्यु भएको र ७८ जना भागेकोमा हालसम्म ३३ जना पक्राउ परेको र ४५ जनाको खोजी भइरहेको बताउनुभयो ।
यसैगरी नौबस्ताकै क्षेत्रीय कारागारबाट फरार भएका १४७ जना कैदीमध्ये ४३ जना पक्राउ परेको तथा १०४ जनाको खोजी भइरहेको सो कारागारका प्रमुख जालन्धर भुषालले बताउनुभयो । उक्त कारागारमा ५८५ जना कैदीहरू रहेका थिए ।
फरार रहेका २१७ जना कैदी बन्दीहरूको खोजी कार्य कार्यादलमार्फत भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । यसअघि सरकारले असोज २० गतेसम्म फर्किन कैदीहरूलाई समय सीमा दिएको थियो । तर, सो समय सीमा समाप्त हुँदा समेत धेरै कैदी बन्दीहरू फर्किएका छैनन् ।
भारतीय कैदी बन्दीहरू भारतमा भागेको प्रहरीले जनाएको छ भने अन्यको खोजी भइरहेकोले सबैलाई पक्राउ गरेर कारागारमा राखिने बताइएको छ ।