• २६ असोज २०८२, आइतबार

मेची राजमार्गको वैकल्पिक सडक खोलिँदै

blog

राजदुवाली माईखोला सडकको वैकल्पिक सडकका रुपमा तयार गर्न थालिएको सिमल गोलाई–तिल्केनी सडक अन्तर्गत जोगमाई खोला क्षेत्र । तस्बिरः कोकिला ढकाल

कोकिला ढकाल

इलाम, असोज २६ गते । मेची राजमार्ग अवरुद्ध भएको सात दिन बित्दा पनि सडक सुचारु हुन नसकेपछि सडक डिभिजन कार्यालय इलामले त्यसको विकल्पमा सिमल गोलाई–तिल्केनी सडक खोल्ने तयारी गरेको छ । 

मेची राजमार्गको राजदुवालीस्थित माइखोलामाथिको सकडमा भित्रभित्रै जमिन बग्ने  समस्या निरन्तर भएपछि तत्कालको समाधानका लागि गोदक सिमल गोलाई–तिल्केनी सडक खोल्ने तयारी गरिएको सडक डिभिजन प्रमुख पवन भट्टराईले बताउनुुभयो । 

यो मार्गलाई यसअघि पनि वैकल्पिक मार्गका रुपमा तयार गरिंदैआएको थियो । यही मार्गमा पर्ने जोगमाई खोलामा एक करोड ९१ लाख रुपियाँको लागतमा गएको असारमा मात्र हालिएको बेली ब्रिज गएको असोज १८ को बाढीले बगाएपछि इलाम सदरमुकाम जोड्ने वैकल्पिक सडकसमेत अवरुद्ध बनेको थियो । 

यता माइखोलामाथिको सडकको ट्याक खोल्ने काम भइरहे पनि तत्काल सवारीलाई प्रवेश गराउन जोखिम रहेको डिभिजन प्रमुख भट्टराईको भनाइ छ । ‘अब जोगमाईमा ह्युुमपाइप राखेर सडक खोल्न आजबाट काम थालेका छौं । राजदुवाली खण्डको मर्मत पनि कायम रहन्छ । ताप्लेजुुङसम्मको जनजीवन कस्टकर नहोस् भनेर वैकप्लिक मार्ग तयारी गर्न थालेका छौं । यहाँबाट चाँडै सवारी पास गराउने लक्ष्य छ ।’ 

यता सिमल गोलाई–तिल्केनी सडकमा गएको आर्थिक वर्षमा सात किलोमिटर ग्राभेल, एक किलोमिटर सोलिङ, पाँच स्थानमा ह्युमपाइप र साँघुरो गोलाइ चौडाको कामको ठेक्का लागेको थियो ।  कुल लागत तीन करोड ४६ लाख १४ हजार ३८८ रुपियाँ रहेको यो सडकमा गएको आर्थिक वर्षमा १९ दशमलव ५५ प्रतिशत वित्तीय प्रगति रहेको डिभिजन कार्यालयले जनाएको छ । 

२०८२ वैशाख १९ गते ठेक्का सम्झौता भएको यो सडकको असार २० गतेभित्र काम सक्नुपर्ने थियो । पूर्वाञ्चल नेपाल सिंग जेभीले ठेक्का लिएको यो सडकमा अहिलेसम्म ५० प्रतिशत मात्र काम भएको छ । अब यही सडकको मर्मत र स्तरोन्नति नै तत्काल पूर्वी पहाडका लागि उत्तम विकल्प रहेको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौड्यालले बताउनुुभयो । 

हिजो मात्र मेची राजमार्गको स्थलगत अवलोकनको क्रममा मन्त्री कुलमान घिसिङलाई जिल्लास्थित अन्य सरोकारवालाले वर्षौंदेखि करोडौं रुपियाँ माटोमा बगेको भन्दै राजदुवाली खण्डको विकल्प खोज्न आग्रह गरेका थिए ।