गोविन्द शर्मा
बाँके, असोज २६ गते । विश्व खेलकुदमा मिनी ओलम्पिक भनेर चिनिने कमनवेल्थ गेम्स २०१० का स्वर्ण पदकधारी केन्याका जोन केलाई एक खेलकुद प्रतियोगितामा सहभागी हुन नेपालगञ्ज आइपुग्नुभएको छ ।
धारा नेपालगन्ज म्याराथनको निमन्त्रणामा जोन आइतबार नेपालगञ्ज पुग्नुभएको हो । धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी, दौड निर्देशक चन्द्रबहादुर गुरुङ र संस्थापक सदस्य भीम ओलीले लिजेन्ड धावक जोनलाई नेपालगञ्जमा स्वागत गर्नुभयो ।
धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भन्नुभयो, “धारा नेपालगन्ज म्याराथनकै भगिनी रनिङ इभेन्ट गौघाट ग्रीनरनमा अतिथि धावकका रुपमा सहभागी जोन नेपालगञ्ज आउनुभएको हो ।” केलाइले स्कुले धावकहरुलाई हौसला बढाउन सँगसँगै दौडने धारा नेपालगन्ज म्याराथनका दौड निर्देशक चन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।
बढ्दो तापक्रमका कारण विश्व पर्यावरणमा परेको नकारात्मक प्रभावका बारेमा ससाना बालबालिकालाई जानकारी गराउँदै प्लास्टिकरहित हरियाली गाउँ निर्माण गर्ने उद्देश्यले गौघाट ग्रीन रन गत वर्षदेखि खजुराको सितापुरमा सुरु गरिएको हो । असोज २८ गते मङ्गलबार बिहान ७ बजे हुने गौघाट ग्रीन रनमा खजुरा पालिका अन्तर्गतका विद्यालयबाट छात्र एवं छात्रा तथा खुल्ला छात्रछात्रा गरी चार विधामा स्पर्धा हुनेछ ।
ग्रीन रनमा ऐक्यबद्धता जनाउनमिस नेपाल वर्ल्ड २०२३ श्रृच्छा प्रधानसमेत सहभागी हुने आयोजकले जनाएको छ । धारा नेपालगन्ज म्याराथनको ११ औं संस्करण आगामी मङ्सिर ६ गते शनिवार हुनेछ ।