लक्ष्मी तिमिल्सेना
जमुनाह, असोज २६ गते । बाँके प्रहरीले गत आर्थिक वर्ष २०८१–८२ भित्र हातहतियारका घटनामा ९ जना व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले सोही वर्षको फरक समयमा भरुवा बन्दुक ४ थान, म्याग्जिन १ थान, गोली १ थान, खोका १ थान, नाल ४ थान, गज १ थान, केप ९६ वटा, बारुद १ डिब्बा लगायत हातहतियार बनाउन प्रयोग हुने धातुजस्ता सामग्रीहरु बरामद गरेका हो ।
गत आर्थिक वर्षमा बाँके प्रहरीले हातहतियारसँग सम्बन्धित ५ वटा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिनुभयो । आ.व. २०८०–८१ मा ८ वटा मुद्दा दर्ता भएको थियो ।
सोही आर्थिक वर्षमा १२ जनालाई हातहतियार मुद्दामा पक्राउ गरिएको थियो । ६ थान भरुवा बन्दुक, १ थान कटुवा पेस्तोल र ३ गोली राउण्ड बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आर्थिक वर्ष २०७९–८० मा १६ जना व्यक्ति पक्राउ परेका थिए । ६ वटा मुद्दा दर्ता भएको थियो ।
सो अवधिमा प्रहरीले १ थान अटोमेटिक पेस्तोल र ११ थान भरुवा बन्दुक बरामद गरेको थियो । साथै पेस्तोलका ९ राउन्ड गोली र करिब ६ सय ग्राम बारुद फेला परेको थियो ।
चालु आर्थिक वर्ष २०८२–८३ को असोज महिनासम्म कुनै मुद्दा दर्ता नभएको र हातहतियार बरामद नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पछिल्ला वर्षहरूमा स्थानीय समुदायको सहकार्य, सीमा क्षेत्रमा कडाइ र सूचनाको प्रभावकारी उपयोगका कारण अवैध हातहतियार नियन्त्रणमा उल्लेखनीय सुधार आएको छ ।