विष्णुप्रसाद पोखरेल
दमक, असोज २६ गते । जेनजी आन्दोलनको क्रममा प्रहरीबाट लुटिएका बन्दुक र गोली बेवारिसे अवस्थामा फेला परेकाे छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार शनिवार र आइतवार कमल गाउँपालिका र दमक नगरपालिकामा बन्दुक र गोली फेला परेको हो ।
शनिवार कमल गाउँपालिका वडा ५ रङ्गपुरमा एक किसानको खेतमा रहेको केराको बोटमुनि ५५ राउण्ड गोली फेला परेको छ । सेतोबोरामा शङ्कास्पद सामान देखेपछि स्थानीयले खोलेर हेर्दा गोली देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
यसैगरी आइतवार बिहान प्रहरीले दमक ५ स्थित धनेश्वर मन्दिर नजिकै एउटा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको छ । एक थान ३०३ मार्क राइफल मन्दिरको गेट नजिकै फेला परेको खड्कालले जानकारी दिनुभएको छ ।
आन्दोलनको क्रममा लुटिएका हातहतियार बुझाउन प्रहरीले बारम्बार सूचित गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्बूले बताउनुभयो । हराइरहेका हतियारहरु खोज्ने कार्य प्रहरीले गर्दै आएको उहाँको भनाइ छ ।