अविनाश चौधरी
धनगढी, असोज २६ गते । कैलाली उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पुष्कर ओझा निर्वाचित हुनुभएको छ । आफ्नो प्रतिद्वन्द्वी रुपेश स्वाँरलाई ६१ मतले पराजित गरी उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
ओझाले ९५० र स्वाँरले ८८९ मत प्राप्त गर्नुभयो । ओझा नेतृत्वको प्यानलबाट तीन उपाध्यक्ष र एक जना महासचिवमा विजयी भएका छन् । यस्तै, स्वाँर प्यानलबाट दुई उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा विजयी भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा स्वाँर प्यानलका केशवराज जोशी, उद्योग उपाध्यक्षमा स्वाँर प्यानलका लक्ष्मण पन्त विजयी हुनुभएको छ । त्यस्तै, एसोसियट उपाध्यक्षमा ओझा प्यानलका मनोज अग्रवाल, वाणिज्य उपाध्यक्षमा ओझा प्यानलका गगनराज केसी र वस्तुगत उपाध्यक्षमा ओझा प्यानलकै अब्बु ओझा विजयी हुनुभएको छ ।
यसैगरी, सङ्घको महासचिवमा ओझा प्यानलका दिनेश लम्साल, सचिव र कोषाध्यक्षमा स्वाँर प्यानलका प्रकाशकुमार चन्द र तिलकबहादुर बोहरा विजयी हुनुभएको छ ।
सङ्घको सदस्यमा शुभशङ्कर ठाकुर, अम्बिका भण्डारी, तेज बम, ध्रुवराज दाहाल, अजय पाण्डेय, तर्कराज भट्ट, मञ्जु भट्ट, सुरेश सापकोटा, बमबहादुर कुँवर, कमला भट्टराई, प्रमिला पाठक, देवराज जोशी र प्रेमबहादुर धामी विजयी भएका छन् ।
दुई हजार ३३५ मतदाता रहेको कैलाली उद्योग वाणिज्य सङ्घको निर्वाचनमा एक हजार ९४० मत खसेको थियो ।