• २६ असोज २०८२, आइतबार

कावासोती नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड हुने

blog

ज्ञानु पङ्गेनी

मध्यविन्दु, असोज २६ गते । कावासोती नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबारदेखि सुरु हुने भएको छ । 

कावासोती नगरपालिकाको आयोजना तथा कावासोती-१७, गोछडामा रहेको सरस्वती माविको व्यवस्थापनमा विद्यालयको खेल मैदानमा सोमबार बिहान १० बजे प्रतियोगिताको उद्घाटन गरिने कार्यक्रम छ । असोज २७ गतेदेखि ३० गते चार दिनसम्म प्रतियोगिता सञ्चालन हुने छ । 

प्रतियोगिताको तयारी पूरा पूरा भएको विद्यालयले जनाएको छ । विभिन्न उपसमिति गठन गरी प्रतियोगिताको तयारी गरिएको विद्यालयका प्रधानाध्यापक फडिन्द्र पौडेलले जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालनका लागि खेलकुद मैदान सरसफाइ तथा व्यवस्थापन गर्ने, टोल परिचालन, स्वयंसेवक परिचालन, पत्राचार तथा सुरक्षा निकायसँगको समन्वय लगायतका सबै तयारी पूरा भएको प्रअ पौडेलले बताउनुभयो । 

प्रतियोगितामा सहभागी हुन आउहरूका लागि पायक पर्ने होटल तथा खाजाघरमा छलफल गरी मूल्यमा एक रूपता कायम गर्ने कम समेत भएको पौडेलले बताउनुभयो । अघिल्ला वर्षहरूमा बिहान आठ बजेदेखि प्रतियोगिता सुरु गर्ने गरिए पनि यस वर्षबाट १० बजेपछि खाना खाएर मात्रै प्रतियोगिता सुरु गर्ने निर्णय भएकाले सबै खेलहरू १० बजेपछि हुने उहाँले जानकारी दिनुभयो । यसबाट खर्चमा मितव्ययिता हुने उहाँको भनाइ छ । 

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन कार्यविधि अनुसार पालिका तथा सहभागी विद्यालयहरूबाट प्राप्त हुने ८ लाख रुपियाँ रकमको सिमा भित्रै सबै काम सम्पन्न गर्ने गरी विद्यालयले बजेट निर्माण गरेको समेत प्रअ पौडेलले बताउनुभयो । स्वतःस्फूर्त रूपमा सहयोग गर्न चाहनेहरुले गर्न सक्ने तर प्रतियोगिता सञ्चालन गर्न विद्यालयले यसवर्ष अन्य व्यक्ति तथा सङ्घसंस्थासँग सहयोग रकम सङ्कलन नगर्ने उहाँले बताउनुभयो । 

कावासोती नगरपालिका शिक्षा शाखा अधिकृत राजन पाण्डेले नगरका २९ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिनुभयो । यस वर्ष अघिल्ला वर्षहरूमा भन्दा केही छिटो नै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको पाण्डेको भनाइ छ । दसैँ तिहारको समयमा बिदा दिइएको र बिदाको समयमा खेल खेलाइँदा कक्षा सञ्चालन भएको बेलामा विद्यार्थीको पढाइलाई असर नगर्ने उहाँले बताउनुभयो । 

प्रतियोगितामा भलिबल, कवड्डी, मार्सल आर्ट अन्र्तगत तेक्वान्दो र कराँतेका खेलहरू हुनेछन् । एथलेटिक्समा दौड, रिले दौड, १५ सय मिटर दौड र तीन हजार मिटरको दौड प्रतियोगिता हुने छन् । यस्तै फिल्ड तर्फ हाइजम्प, लङजम्प, सटपुट, ट्रिपल जम्प र ज्यावलिङ थ्रोका खेल समावेश गरिएको कावासोती नगर खेलकुद विकास समिति अध्यक्ष तथा कावासोती १२ का अध्यक्ष ध्रुव खनाल (दिपेशले) जानकारी दिनुभयो ।