नवीनराज कुइँकेल
लमजुङ, असोज २६ गते । गाउँघर र लेकाली गोठमा रहेको संस्कृति प्रवर्धन गर्न लमजुङको दोर्दीमा ‘मेमे पोखरी कल्चरल ट्रेल’ सञ्चालनमा ल्याइएको छ । चार हजार चार सय ५६ मिटर उचाइमा हिमालचुली र मनास्लु हिमालको काखमा रहेको पर्यटकीय मेमे पोखरी घुम्नेगरी ‘मेमे पोखरी कल्चरल ट्रेल’ बनाइएको छ ।
यो ट्रेलको यात्रा गर्न पूरै १० दिन लाग्छ । दोर्दी गाउँपालिका–७ मा रहेको मेमे पोखरी पुग्न राजधानी काठमाडौँबाट एक दिनको मोटरयात्रा र तीन दिनको पैदल यात्रापछि पुग्न सकिन्छ । गाउँ र गोठमा रहेको संस्कृति प्रवर्धन गर्दै ‘मेमे पोखरी कल्चरल ट्रेल’ प्रवर्धन गरिएको दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार दोर्दी ग्रामीण पर्यटन प्रवर्धन समिति गठन गरेर पर्यटन प्रवर्धनकार्य अघि बढाइएको छ । समितिले ‘मेमे पोखरी कल्चरल ट्रेल’ का लागि १० दिने प्याकेज बनाएको छ ।
दोर्दीको शीरमा रहेको मेमे पोखरी पुग्न पहिलो दिन काठमाडौँबाट दोर्दी गाउँपालिका केन्द्र नौथर शेरा वा त्यसपछि हिलेबेँसी क्षेत्रसम्मको करिब एक सय ८० किलोमिटर सवारी यात्रा गर्नुपर्छ । त्यसपछि करिब डेढ घण्टाको पैदलपछि खिन्चोक पुगिन्छ । बाह्रपोखरीबाट तेस्रो दिन करिब ८ घण्टाको पैदलयात्रापछि कोम्रो डाँडा र चौथो दिन उक्त क्षेत्रमा अनुकुलताका लागि विश्राम लिइन्छ ।
पाँचौँ दिन कोम्रोडाँडाबाट करिब ७ घण्टाको पैदलपछि मेमे पोखरी पुगिन्छ । छैटौं दिन मेमे पोखरी घुम्ने र सातौं दिन मेमे पोखरीबाट फर्किएर करिब ६ घण्टाको यात्रापछि पौलीडाँडा पुगिन्छ । पौलीडाँडाबाट आठौं दिन करिब पाँच घण्टाको यात्रापछि खुरुखर्क पुगिन्छ ।
खुरुखर्कबाट नवौं दिन करिब नौ घण्टाको यात्रामा तोब्रोस्यो झरना हेर्दै खिन्चोक आइपुगिन्छ । खिन्चोकबाट दसौं दिन करिब ८ घण्टा सवारी यात्रामा काठमाडौँ पुगिन्छ । पर्यटकलाई नवौं दिन दुवार–हिलेटक्सार माझगाउँ पुग्ने पदमार्गको पनि पहिचान गरिएको छ ।
गाउँपालिका अध्यक्ष अधिकारीले ‘मेमे पोखरी कल्चरल ट्रेल’ मा प्राकृतिक दृश्यावकलोकन साथै भेडीगोठ, भैँसीगोठसँगै मौसमअनुसार गुराँस र अर्किटसँगै रमाउन सकिने बताउनुभयो । यो क्षेत्रमा प्राकृतिक फूलहरू, जडिबुटी, वन्यजन्तुहरू प्रशस्त देखिन्छन् । डाँडाडाँडै पोखरी पुग्दा र फर्कदा दुवैतर्फबाट मनमोहक दृश्य देखिने अधिकारीले बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घलेका अनुसार मेमे पोखरीको काखमा घले, गुरुङ, तामाङ, मगर, ब्राम्हण क्षेत्रीलगायतका जातजाति बसोवास छन् । यी गाउँहरूमा स्थानीय लोपोन्मुख संस्कृति हेर्न सकिन्छ । “यो पदमार्गको प्रस्थानविन्दु खिन्चोकमा होमस्टे छ ।
दुवार र माझगाउँ क्षेत्रमा पनि होमस्टे छन् । मेमे पोखरीसहित बास बस्ने ठाउँ–ठाउँमा धर्मशाला निर्माण गरिएका छन्” उहाँले भन्नुभयो, “पदमार्गको ठाउँ–ठाउँमा बास बस्ने व्यवस्था छ । खानेपानीको व्यवस्था छ । अझै पूर्वाधार निर्माणमा पनि जुटेका छौं ।”
पर्यटन प्रवर्धन समिति अध्यक्ष कन्यनाल घलेले जनै पूर्णिमाको दिन मेला लाग्ने मेमे पोखरीमा बाह्रै महिना पर्यटक भित्र्याउन पदमार्ग बनाएको बताउनुभयो । पर्यटनको माध्यमबाट गाउँमै रोजगारीको वातावरण बनाउन खोजिएको उहाँले बताउनुभयो ।
दोर्दी ग्रामीण पर्यटन प्रवर्धन समितिका सल्लाहकार इन्सुहाङ राईले पर्यटकका लागि ‘मेमे पोखरी कल्चरल ट्रेल’ अतुलनीय उपहार भएको बताउनुभयो । “यहाँको प्रकृति, संस्कृति र गाउँलेको आत्मीयताले सबैलाई मुग्ध बनाउँछ” उहाँले भन्नुभयो, “पर्यटकका लागि यो पदमार्ग थप आकर्षक र रोमान्चित छ ।”
दोर्दीको माथिल्लो क्षेत्रका पदमार्ग घुम्न लमजुङको मर्स्याङ्दी गाउँपालिका र दुधपोखरी गाउँपालिकाबाट पनि आउजाउ गर्न सकिन्छ । यस्तै, गोरखाको अजिरकोट र बारपाक सुलिकोटबाट पनि आउजाउ गर्न सकिन्छ । लमजुङ र गोरखाका पाँच वटा गाउँपालिकाको समन्वयमा यस क्षेत्रको माथिल्लो क्षेत्रको पदमार्ग पहिचान गरी “बुद्ध हिमाल–हिमालचुली ग्रेटलेक सर्किट ट्रेल” सञ्चालनमा ल्याइएको छ ।